२०८१ जेठ ७ , सोमवार

तातोपानी नाकाबाट खुल्यो निर्यात

सुनाखरी न्युज/ काठमाडौं। ०७२ को विनाशकारी भूकम्प गएको सात वर्षदेखि आयात मात्र भइरहेको भोटेकाशी गाउँपालिका–२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट मुढासहित अन्य हस्तकलाका सामाग्री तीन कन्टेनरमा पठाएर निर्यात खोलिएको छ ।

 

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेकाअनुसार यसअघि भएको मौखिक सहमतिअनुरुप सोमबार मितेरी पुलमा चीन र नेपालका सीमाक्षेत्रका सुरक्षाकर्मीको अनौपचारिक उपस्थितिमा तीन कन्टेनर पठाएर निर्यात खुलाइएको हो । भूकम्प र पराकम्पनले नाका बन्द हुनुअघि यही नाकाबाट हस्तकला, वनस्पति, जडीबुडी, चाउचाउजस्ता एक सय ८२ प्रकारका सामग्री निर्यात हुने गर्थे ।‘अहिले तत्काललाई तीन कन्टेनर चीनको खासा र ल्हासाक्षेत्र पुग्न लिपिङबाट मितेरी पुल पार गरेका छन्, आजबाट नाकाबाट निर्यात खुलाइएको छ, दुवैतर्फ कन्टेनर आउजाउ चलेको छ,’ प्रजिअ न्यौपानेले भने । सोमबार मितेरी पुल पारीक्षेत्रको चीनको झाङ्मु पोर्ट, पार्किङ, पुनर्निर्माण भइरहेका बजार इलाका भेगमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रममा चिनियाँहरू बाक्लो रुपमा उपस्थित थिए । चीनबाट न्यालम प्रमुखसहित बोर्डर कन्ट्रोल प्रमुख सु गाङ, खासा अनुसन्धान प्रमुख गे साङजस्ता उच्च अधिकारीले चीन क्षेत्रमा कार्यक्रम गरेका छन् ।

 

नेपालबाट भूकम्पको आठ वर्षपछि निर्यात थालिँदा मितेरी पुलमा चीन र नेपालतर्फका सीमाक्षेत्रका सुरक्षाकर्मी र भन्सार अधिकारी उपस्थित भएर सामान्य कन्टेनर पठाइएको छ। तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानन्द केसी, इलाका प्रहरी कोदारीका प्रहरी निरीक्षक सन्तोस श्रेष्ठ र तातोपानी सशस्त्र प्रहरी बल (बीओपी)का सुरक्षाकर्मीलगायत अन्य सीमा भेगका स्थानीय उपस्थित थिए । मितेरी पुलमा चीनको न्यालम र खासा प्रहरी स्टेसनका प्रमुखद्वय डान ड्रओ र जियान क्यानलगायतका अन्य अधिकारी पनि सहभागी भएको इलाका प्रहरी कोदारीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले बताए । वैशाख ४ मा नेपाल र चीनका सरकारी अधिकारीबीच निर्यात मात्रै खुल्नेसहित ६ बुँदे मौखिक सहमति भएको हो ।