२०८१ बैशाख १३ , बिहिवार

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना सन्देश

सुनाखरी न्युज/ काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले १३२औं अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे अवसरमा साेमबार स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवीहरूलाई शुभकामना दिएका छन् ।

 

राष्ट्रपति पौडेलले साेमबार एक शुभकामना सन्देश जारी गर्दै दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई एकताको सुत्रमा बाँध्न सहयोग पुग्ने विश्वास राष्ट्रपति पौडेलले गर्नुभएकाे हाे । उद्यमशीलताको विकास गर्न पूँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्वपूर्ण हुने भएकोले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नु मुख्य हुने उहाँले बताउनुभएको छ ।

 

त्यस्तै, प्रधानमन्त्री दाहाललेले पनि अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे अवसरमा साेमबार शुभकामना दिंदै सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताउनुभएको छ । आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाईका साथ लागू गर्न पहल गर्ने उहाँले बताउनुभएको हाे । राष्ट्रतर्फबाट प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारमा यसै वर्षदेखि कम्तिमा २ प्रतिशत मजदुरलाई समावेश गर्ने नीति लिइने पनि प्रधानमन्त्री दाहालले जारी गर्नुभएकाे शुभकामना सन्देशमा उल्लेख गरिएकाे छ ।

 

अदक्ष र अप्रमाणित अवस्थामा जोखिमपूर्ण काम गरिरहेका सबै सरसफाई मजदुरलाई दक्ष बनाउन अनिवार्य रुपमा पेशागत तालिम, आधुनिक सामग्री र उपयुक्त पोशाक र कामको नियमित अनुगमन गर्न निर्देशन दिइएको पनि उहाँले बताउनुभएकाे छ ।