२०८१ बैशाख २३ , आइतवार

राष्ट्र बैंकको वैदेशिक बचतपत्र बिक्री खुला, ११ प्रतिशत ब्याज

सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख १७ गतेदेखि वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने भएको छ। ११ प्रतिशत ब्याजदर रहेको बचतपत्रको जेठ १७ गतेसम्म बिक्री खुला हुनेछ।

 

९७ करोड ७५ लाख ७० हजार रुपैयाँ बराबरको बचतपत्र बिक्री आह्वान गरिएको हो। यसको ब्याजदर ११ प्रतिशत तोकिएको छ। ६/६ महिनामा ब्याज प्राप्त हुनेछ। हाल बिक्री गरिन लागिएको बचतपत्रको ब्याजदर घटाइएको हो। गत चैतमा निष्कासन गरिएको वैदेशिक रोजगार बचतपत्रको ब्याजदर १२.५ प्रतिशत ब्याजदर थियो। यस्तो बचतपत्रको परिपक्व अवधि ५ वर्षको छ। मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले यस्तो बचतपत्रमा आवेदन दिन सक्छन्।

 

यो मापदण्ड पुगेका नेपाली वा गैरआवासीय नेपालीका बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीको नाममा समेत बचतपत्र खरिद गर्न सकिनेछ। ऋणपत्रमा देश भित्र र बाहिरबाट अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था छ। यस्तो बचतपत्रमा न्यूनतम १० हजार रुपैयाँसम्म लगानी गर्न सकिन्छ। प्रति इकाइ मूल्य एक हजार रूपैयाँ छ।