२०८१ बैशाख ११ , मंगलबार

इन्टरपोलको शताब्दी वर्षको अवसरमा नेपाल प्रहरीका कर्मचारीद्वारा लोबुचे हिमाल आरोहण

सुनाखरी न्युज/ काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न जाने क्रममा नेपाल प्रहरी पहरा गण सामाखुशीमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली तथा आरोहण दलले शुक्रबार ६११९ मिटर उचाईको लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ ।

सन् १९२३ मा स्थापना भएको इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने योजना अन्तर्गत इन्टरपोलको १००औं सदस्य राष्ट्र नेपालको तर्फबाट नेपाल प्रहरीको कर्मचारीले सर्वोच्च शिखर सगरमाथा आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरी र इन्टरपोलको झन्डाहरू फहराउनका लागि प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गत चैत ३० गते नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा आरोहणमा जान लागेका प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीलाई राष्ट्रिय झन्डा, नेपाल प्रहरीको झन्डा, इन्टरपोलको झन्डा एवम् आरोहणमा प्रयोग हुने सामग्रीहरू हस्तान्तरण गर्नुका साथै आरोहण दललाई शुभकामनासहित विदाइ गर्नुभएको थियो ।

 

नेपाल प्रहरीले विभिन्न कालखण्डमा पर्वत, हिमाल आरोहण गरिसकेको छ । साथै नेपाल प्रहरीमा हिमाली शाखा स्थापना भई प्रहरी कर्मचारीहरु र नेपाल प्रहरी परिवार संघका पदाधिकारीहरुले समेत विभिन्न हिमालहरु सफलतापूर्वक आरोहण गर्नुका साथै सगरमाथा सफाई अभियानमा सहभागी भएको र विभिन्न आरोहण दलमा सम्पर्क अधिकृतको रुपमा भूमिका समेत निर्वाह गरिसकेको छ । आरोहणमार्फत कुनै पनि आपराधिक क्रियाकलाप हुन नदिने र कानून कार्यान्वयनमा नेपालको पूर्णरुपमा एक्यवद्धता रहेको भन्ने सन्देश विश्वसामु प्रवाह हुने र यसबाट नेपालको पर्यटन प्रवर्धन भई अर्थतन्त्रमा थप टेवा पुग्नुका साथै प्रहरीको उपस्थितिले विश्वभरका पर्वतारोही पर्यटकहरूमा थप सुरक्षाको अनुभूति बढ्ने विश्वास रहेको छ । पहिलो पटक विसं २०३१ सालमा प्रहरी कर्मचारीका ९ सदस्य टोलीले ६९२० मिटर उचाईको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।

 

हिमाली भेगको सुरक्षाका निम्ति प्रहरी कर्मचारीलाई सक्षम बनाउने उदेश्यका साथ विसं २०३३ सालमा नेपाल प्रहरी पर्वतारोहण तथा साहसिक प्रतिष्ठान स्थापना भएपश्चात नेपाल प्रहरी कर्मचारीको २७ सदस्य टोलीले विसं २०३३ असोज १६ गते र नेपाल प्रहरी महिला दलको ३१ सदस्य टोलीले विसं २०४१ भदौ २६ गते ६११९ मिटर उचाईको लोबुचे हिमाल सफलातापूर्वक आरोहण गरेका थिए ।