२०८१ बैशाख १२ , बुधवार

महर्षी स्कुलको वार्षिकोत्सब तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । महर्षि स्कुल सामाखुशीमा भव्यताका साथ वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम मनाइएको छ । महर्षि स्कुलले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय परिक्षा वोर्डका अध्यक्ष महाश्रम शर्माले नेपालको शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

 

उहाँले शिक्षक, विद्यार्थी र अभिभावकबीच राम्रो सम्बन्ध भएन भने नेपालको शिक्षा क्षेत्र राम्रो हुन नसक्ने बताउनुभएको हो । अध्यक्ष शर्माले २१ औँ शताब्दीमा सूचना र प्रविधिको उच्चतम प्रयोग गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय लाग्नुपर्ने बताउनुभयो ।नेपालले परिक्षा प्रणाली र शैक्षिक क्षेत्रलाई सुधार गर्न लागिपरेको उहाँको भनाई थियो । “विद्यालयले विद्यार्थीलाई दिने शिक्षाले विद्यार्थीको व्यवहार बदल्न सक्नुपर्छ,”– उहाँले भन्नुभयो ।

 

उहाँले घोकन्ते शिक्षामात्र नभएर प्राविधिक र सीपमुलक शिक्षालाई राज्यले प्राथमिकता दिनुपर्ने बताउनुभयो । विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रकाशचन्द्र दवाडीले महर्षि स्कुलले नैतिक शिक्षा र सीपमुलक शिक्षालाई समेत प्राथमिकता दिँदै आएको बताउनुभयो । नेपालको शिक्षा प्रणालीलाई सुधार गर्न महर्षि स्कुल लागेको उहाँको भनाई थियो ।

 

महर्षि विद्यालयका प्राचार्य निर्मल पौडेलले शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य भएमात्र विद्यार्थीको शिक्षामा सुधार हुने बताउनुभयो । कार्यक्रममा नवौँ महर्षि म्याराथन प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो । सोही कार्यक्रममा नेपालका चर्चित लोकगायक राजु परियार, शिला आले, बाल गायक सुप्रिम मल्ल ठकुरी, आयुषा गौतम र हाँस्यव्यङ्ग्य कलाकार शिवशङ्कर रिजालले प्रस्तुती दिनुभएको थियो ।