२०८१ बैशाख १३ , बिहिवार

वायु प्रदुषणका कारण दीर्घरोगको समस्या बढ्दै

सुनाखरी न्युज/ काठमाडौं । केही समयअघि विश्वमै सबैभन्दा बढी प्रदुषित सहर बनेको काठमाडौंमा सामान्य वर्षाका कारण केही सुधार आएको छ । देशैभरको वन डढेलोका कारण काठमाडौं लगायत देशैभर प्रदुषण बढेको हो । काठमाडौं उपत्यकाका लगायत स्थानको वायुको स्थिति खस्कदो अवस्थामा छ ।

 

जसका कारण मानव स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको छ । वायु प्रदुषणले समान्य रुघाखोकी, स्वास प्रश्वासको समस्या मात्र नभएर क्यान्सर र मस्तिष्कघात जस्ता दीर्घ रोगको जोखिम समेत बढाएको छ । केहि साताअघि काठमाडौं उपत्यकाको वायुको अवस्था यतिसम्म खस्कियो कि संसारकै सबै भन्दा बढी प्रदूषित सहरको सूचीमा पर्न गयो । सामान्य वर्षापछि सामान्य सुधार आयो । तर अहिले पनि काठमाडौको वायुको अवस्था हेर्ने हो भने स्वथ्यकर देखिदैन । डब्लुएचको मापदण्ड अनुसार हावामा पीएम–२.५ को मात्रा १० माइक्रोग्राम प्रतिमिटर क्युबभन्दा बढी हुनुहुँदैन । तर हाम्रो हावाको गुणस्तर हेर्ने हो भने विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा आठ गुणा भन्दा बढी हानिकारक कार्बनसमेत फेला परेका छन् ।

 

वायुको स्तर विग्रदा यसले मानव स्वास्थ्यमा प्रत्यक्ष असरदेखि दीर्घकालीन असर समेत पार्ने गर्दछ । पछिल्लो समय छाती दुख्ने, नाक सुख्खा हुने जस्ता समान्यदेखि दीर्घकालीन रोगका बिरामी बढ्दै गएको चकित्सकहरु बताउँछन् । विश्वमा ९९ प्रतिशत मानिसहरु प्रदुषित वायु भएको ठाउँमा बस्ने गरेको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनकाअनुसार वायु प्रदुषणका कारण वर्सेनि विश्वमा ७० लाख मानिसको मृत्यु हुने गरेको छ । त्यस्तै नेपालमा वायु प्रदूषणका कारण वर्सेनि ४२ हजार भन्दा बढिको मृत्यु हुने गरेको छ । काठमाडौमा मात्रै पाँच हजार भन्दा बढिको वायु प्रदुषणकै कारण मृत्यु हुने गरेको देखिन्छ ।