सुनाखरी न्युज/ काठमाडौं । दूधमा आवश्यक गुणस्तरको मात्रा नपुगेको पाइएपछि रामेछापको मन्थलीमा सञ्चालनमा रहेका सबै तीन वटा डेरी कारबाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थलीमा रहेका अमृत डेरी, रामेछाप डेरी र चरञ्जिवी डेरीबाट उपभोक्तालाई बिक्रीका लागि तयार पारिएको दूध शुक्रबार आकस्मिक रुपमा परीक्षण गराएको थियो ।
परीक्षणमा दूधमा हुनुपर्ने न्यूनतम फ्याट र सीएनएफ नभेटिएपछि तीन वटै डेरीलाई कारबाही गरिएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार उपभोक्ताको गुनासोको आधारमा पहिलो पटक मन्थलीका डेरीबाट बिक्रीका लागि तयार भएको दूध परीक्षण गरिएको हो । परीक्षणमा न्यून गुणस्तरको दूध फेला परेकाले पहिलो पटक प्रत्येक डेरीलाई १५ हजारका दरले जरिवाना गरीएको हो । यसपछि पनि गुणस्तरको बारेमा गुनासो आएमा कडा कारबाही गर्ने चेतावनी पनि प्रशासनले दिएको घिमिरेले बताए । रामेछापमा रहेका डेरीले केही दिनअघि उपभोक्ताको हित प्रतिकूल हुने गरी दूध–दही, घ्युको मूल्य वृद्धि गरेका थिए ।
उक्त मूल्य प्रति उपभोक्ताको गुनासो स्थानीय प्रशासनमा पुगेपछि सर्वपक्षीय भेला बसेर मूल्यमा पुनरावलोकन गरिएको थियो । डेरीले गाईको दूधप्रति लिटर १ सय र भैंसीको दूध प्रति लिटर १ सय २० रुपैयाँ निर्धारण गरेका थिए । निमित्त प्रजिअको संयोजकत्वमा बसेको बैठकले गाईको दूधको मूल्यमा ५ रुपैयाँ घटाउने निर्णय गरेको थियो । तर उपभोक्ताले भने उक्त मूल्य पनि अधिक रहेको गुनासो गर्दै आएका छन् । यसअघि गाईको दूध प्रतिलिटर ८० रुपैयाँ थियो । डेरीले किसानबाट प्रतिलिटर ७४ रुपैयाँमा गाईको दूध खरिद गर्ने गरेका छन् । दूध बिक्री गर्दा अधिक मूल्य तोके पनि किसानले पाउने मूल्यमा वृद्धि नगरेकाले डेरी प्रति दूध बिक्रेता किसान समेत रुष्ट रहेका छन् ।