२०८१ बैशाख १३ , बिहिवार

भारतमा सात हजार बढी कोरोना सङ्क्रमित

सुनाखरी न्युज/ काठमाडौं । गत बुधबारदेखि भारतमा कोराना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छभने यसबाट स्वास्थ्यलाभ गर्नेको सङ्ख्या बढ्दै गएको छ ।

 

बितेका २४ घण्टामा सात हजार पाँच सय ३३ जनामा कोभिड–१९ सङ्क्रमण पत्ता लागेको तथा ११ हजार ४७ जनाले कोरोनालाई परास्त गरेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज जनाएको छ । दुई लाख आठ हजार एक सय १२ जनाको स्वाब परीक्षण गर्दा सात हजार पाँच सय ३३ जनामा सङ्क्रमण पत्ता लागेका हो । अघिल्लो साता भारतमा कोरोना महामारी मत्थर भएयता सबैभन्दा धेरै बिरामी फेलापरेपछि केन्द्र सरकारले परीक्षणलाई तीव्र गतिमा अघि बढाउनका साथै खोप अभियानलाई पनि उच्च प्राथमिकता दिँदै आएको छ ।

 

हाल भारतमा कोरोनाबाट सक्रिय रूपमा सङ्क्रमित बिरामी ०।१२ प्रतिशत रहेका उक्त मन्त्रालयले जनाएको छ । चार करोड ४३ लाख ४७ हजार २४ जना रोगमुक्त भएका छन् । विश्वव्यापी कोरोना महामारी शुरुभएदेखि हालसम्म दुई अर्ब २० करोड ६६ लाख भारतीयले कोरोनाविरुद्ध खोप लगाइसकेका छन् ।एजेन्सी ।