२०८१ बैशाख ८ , शनिवार

ताला तोड्दै बालेनले भने – ‘दलगत शैक्षिक सङ्गठनको दुष्प्रयास यथाशीघ्र विफल पारेको छौँ’

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह बालेनले विद्यालयमा दलगत शैक्षिक सङ्गठनको आडमा राजनीति गर्नु अपराध भएको टिप्पणी गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले विद्यालय पढ्ने ठाउँ भएकाले विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न नसकिने उल्लेख गरेका छन् । ‘विद्यालय पढ्ने ठाउँ हो। हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ। त्यस माथि पनि दलगत शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो,’ उनले भनेका छन् ।

 

साथै उनले विद्यार्थी संगठनहरुले काठमाडौं महानगरपालिका शिक्षा शाखामा लगाएको तालालाई फोड्दै गरेको भिडियोसमेत फेसबुकमा पोष्ट गरेका छन् । सँगै उनले भनेका छन्, ‘यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छौ।’काठमाडौं महानगरले यसअघि नै विद्यालयमा राजनीतिक गतिविधि गर्न रोक लगाउने भन्दे परिपत्र जारी गरेको थियो ।

 

सो को विरोधमा बिहीबार नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनको काठमाडौं जिल्ला समितिले काठमाडौं महानगरपालिका शिक्षा शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको थियो। महानगरले निकालेको परिपत्रप्रति विद्यार्थी समितिका संयोजक मीनबहादुर ऐडीले शैक्षिक माफियाहरूको इसारामा उक्त परिपत्र जारी गरिएको आरोप लगाएका छन् ।