२०८० चैत्र १६ , शुक्रवार

जेठबाट ब्रोकरेज सेवा दिँदै नागरिक स्टक डिलर

सुनाखरी न्युज/ काठमाडौं । हालसम्म स्टक डिलरको मात्र काम गर्दै आइरहेको नागरिक स्टक डिलरले जेठबाट धितोपत्र दलाल सेवा (ब्रोकरेज) सुरु गर्ने भएको छ।

 

कम्पनीले जेठको पहिलो साताबाट औपचारिक रुपमा ब्रोकरेज सेवा पनि प्रवाह गर्ने भएको हो। करिब २ वर्षअघि स्टक डिलरका रुपमा यो कम्पनीको स्थापना भएको थियो। त्यतिबेलादेखि नै ब्रोकरेज सेवा सञ्चालनको तयारी कम्पनीले गरिरहेको थियो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सोमबार बसेको सञ्चालक समितिको बैठकले नागरिक स्टक डिलरलाई ब्रोकरेज सेवा प्रवाह गर्न सदस्यता नम्बर ६० प्रदान गर्ने निर्णय गरेको छ। स्टक डिलरले अब ६० नम्बर ब्रोकरका रुपमा काम गर्नेछ। ब्रोकरेज सेवा प्रवाह गर्ने नागरिक स्टक डिलर ५१ औँ कम्पनी हुनेछ। हाल ५० वटा ब्रोकर सञ्चालनमा छन्।

 

नागरिक स्टक डिलरले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट २ वर्षअघि स्टक डिलरसँगसँगै ब्रोकर कार्य सञ्चालन गर्न स्वीकृति पाएको थियो। नागरिक स्टक डिलरको पूर्वाधार निरीक्षण गरेपछि नेप्सेले सदस्यता प्रदान गरेको ब्रोकरेज सेवा दिन स्टक डिलरले छुट्टै भवन लिएको छ। बजारमा रहेका अन्य ब्रोकरभन्दा थप सेवा–सुविधा लगानीकर्तालाई दिइने कम्पनीले जनाएको छ। ‘ब्रोकरेज सेवा प्रवाह गर्न आवश्यक पूर्वाधार र प्रविधि तयार भइसकेको छ’, एक अधिकारीले भने, ‘लगानीकर्ताले फरक अनुभूति र सहज ढंगले कारोबार गर्ने वातावरण बनाउँछौँ।