२०८१ बैशाख ८ , शनिवार

सुरेन्द्रराज पाण्डे गण्डकीमा मुख्यमन्त्री नियुक्त हुँदै

सुनाखरी न्युज/ पोखरा ।

नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशमा आज  बहुमतको सरकारको मुख्यमन्त्री नियुक्त हुँदै छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आज अपराह्न ४ बजेसम्मको समय दिएका छन् ।

 

पुस २५ गते माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमालेका खगराज अधिकारी सरकार वैशाख ९ गते ढलेपछि गण्डकीमा कांग्रेस-माओवादीको सरकार बन्न लागेको हो ।

 

गण्डकीमा शीर्ष तहमै कांग्रेस-माओवादी आलोपालो गर्ने सहमति भएको नेताहरुले बताएका छन् । पहिलो चरणमा कांग्रेसले नै मुख्यमन्त्री पाउने पक्का भइसकेको छ ।

 

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण बदलेपछि गण्डकीमा एमाले सरकारबाट माओवादी मन्त्रीले राजीनामा दिँदै चैत १० गते समर्थन फिर्ता लिएका थिए ।

 

कुनै दलले समर्थन फिर्ता लिएमा १ महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्थाअनुसार अधिकारीले संसदबाट वैशाख ९ गते विश्वास गुमाएका थिए ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बनेको सरकार ढलेपछि सोही बुँदाअनुसार सरकार गठनका लागि आह्वान गर्ने कि उपधारा ३ बमोजिम ठूलो दलबाट मुख्यमन्त्री नियुक्त गर्ने अन्योल थियो । कानुनी परामर्शपछि प्रदेश प्रमुख गुरुङले १२ गते उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि तीन दिनको समय दिएर आह्वान गरेका थिए ।

 

कांग्रेस र माओवादी पालैपालो काठमाडौं पुगेर सहजीकरण गरिदिन आग्रह थिए । माओवादीले कम्तिमा कति समयपछि मुख्यमन्त्री पालो पाउने ग्यारेन्टी गर्न, ७ मन्त्रालयमध्ये ३ मन्त्रालय पाउनुपर्ने माग गर्दै अझै केन्द्रको निर्णय कुरिरहेको छ ।

 

गण्डकीमा कांग्रेसका २७, माओवादीका ७ (सभामुखबाहेक) सदस्यले ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन सहज बहुमत पुग्छ । मनाङबाट स्वतन्त्र रुपमा सर्वसम्मत चुनावले जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङ) पनि गठबन्धनमा हुँदा ३५ सदस्य पुग्छ ।

मुख्यमन्त्री दाबी गरिरहेको माओवादीले पहिलो चरणमा नपाए पनि ७ मध्ये ३ मन्त्रालय पाउनुपर्ने दाबी पनि गरिरहेको छ । माओवादीबाट मुख्यमन्त्री नै बन्ने भएकाले चुमान मन्त्री नबन्ने र यसअघि नै पर्यटनमन्त्रीबाट राजीनामा दिएका रेशमबहादुर जुग्जाली भने मन्त्री भबन्ने पक्का छ ।

 

आज मुख्यमन्त्रीसँगै कांग्रेसबाट १ जना र माओवादीबाट १ जना गरी ३ जनाले शपथ लिने तयारी भइरहेको एक कांग्रेस सांसदले बताए ।