२०८१ जेठ ७ , सोमवार

सरकार, राष्ट्र बैंक, निजी क्षेत्र सँगसँगै जान सके वर्तमान समस्या समाधान हुन्छ : अध्यक्ष ढकाल

सुनाखरी न्युज/ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगारी र करमा निजी क्षेत्रको योगदान ८० प्रतिशत रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन् ।

 

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर इकोनोमिक समिट २०२३ को पहिलो सत्र ‘आर्थिक मेरुदण्डको पहिचान र प्राथमिकता’मा बोल्दै उनले सरकार र निजी क्षेत्र मिलेरै वर्तमान संकट समाधान गर्न सकिने बताए । उनका अनुसार अहिलेको वर्तमान समस्यालाई समाधान गर्न र दिगो विकासका लागि महासंघले ५ वटा प्राथमिकता अघि सारेकाे छ। ‘अघि सारिएका ५ प्राथमिकतालाई सरकार र निजी क्षेत्र सँगसँगै जान सके चाहेको प्रतिफल आउन सक्छ ।’

 

अहिले लगानीको वातावरण बनााउन जोड दिनुपर्ने उनले बताए । ‘आन्तरिक होस् वा वैदेशिक लगानी भित्र्याउन पहल गर्न जरुरी छ । त्यसका लागि नेपाल सरकार र निजी क्षेत्रको साझेदारीमा लगानीको वातावरण बनाउने हो,’ उनले भने, ‘दक्ष जनशक्ति नभएका कारण बेरोजगारी बढेको छ । सँगसँगै दक्ष जनशक्तिको अभाव पनि छ ।’ अदक्ष कामदारको रुपमा युवाहरू विदेशिएकाले त्यसलाई परिपूर्ति गर्न दक्ष जनशक्ति तयार बनाउनु पर्नेमा उनले जोड दिए । आन्तरिक वा वाह्य पूर्तिका लागि पनि दक्ष जनशक्ति चाहिने भएकाले यसलाई महासंघले प्राथमिकतामा राखेको उनले बताए ।

 

सरकारको स‌ंकुचित नीतिका कारण स्वास्थ्य शिक्षाका लागि धेरै नेपाली युवालाई विदेश पढाउन पठाउनुपर्ने बाध्यता रहेको उनले बताए । काेटा निश्चित भएकाले धेरै युवा विद्यार्थी पूर्वाधार नभएका मुलुकमा समेत गएर पढ्न बाध्य रहेको ढकालको भनाइ छ । संकुचित नीतिमा तत्काल सुधार गर्न उनले सरकारसँग आग्रह गरे । नियामकलाई बलियो बनाएर स्वास्थ्य शिक्षाको नीतिमा परिवर्तन गर्न जरुरी रहेको उनले बताए ।