२०८१ बैशाख १३ , बिहिवार

निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे ३० अर्ब बीमाशुल्क

सुनाखरी न्युज/ काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको चालू आर्थिक वर्षको ९ महिनामा ३० अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । चालू आवको साउनदेखि चैत्र मसान्तसम्ममा ३० अर्ब एक करोड ४८ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन् । यो शुल्क २१ लख ६६ हजार ३२८ बीमालेख बिक्री गरेर संकलन भएको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार गत चैत्र महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब १४ करोड १५ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा यी कम्पनीहरुले २ लाख ८९ हजार ८८३ वटा बीमालेख बिक्री गरेका हुन् । निर्जीवन बीमा कम्पनीहरु मध्ये सबै भन्दा अब्बल शिखर इन्स्योरेन्स देखिएको छ । चैत्र मसान्तसम्म यस कम्पनीले चार अर्ब १५ करोड ४८ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । यो शुल्क दुई लाख ३ हजार ३०१ बीमालेख बिक्री गरेर आएको हो । त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) रहेको छ । यस कम्पनीले २ लाख ६५ हजार ५५८ बीमालेख बिक्री गरेर ३ अर्ब ४८ करोड १३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेको तेस्रो स्थानमा रहेको सिद्धार्थ इन्स्योरेन्स कम्पनीले तीन अर्ब ३५ करोड २५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा नेको इन्स्यारेन्सले दुई अर्ब २६ करोड ३१ लख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले दुई अर्ब २९ करोड ४९ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ । बीमा प्राधिकरणका अनुसार चालु आवको चैत्र महिनासम्म राष्ट्रिय बीमा कम्पनीले एक अर्ब ९९ करोड ५२ लाख रुपैयाँ, एनएलजी इन्स्यारेन्स कम्पनीले एक अर्ब ८१ करोड १२ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्यारेन्स कम्पनीले एक अर्ब ६५ करोड ४६ लाख रुपैयाँ र अजोड इन्स्यारेन्स कम्पनीले एक अर्ब ४४ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

निर्जीवन बीमा व्यवसाय गर्नेहरुमध्ये सबैभन्दा कमजोर नेशनल इन्स्योरेन्स कम्पनी देखिएको छ । यस कम्पनीले चैत्र मसान्तसम्म ७६ करोड ३२ लाख बीमा शुल्क संकलन गरेको छ । यसका साथै युनाइटेड इन्स्योरेन्सले ९५ करोड ३२ लाख बीमाशुल्क संकलन गरेको छ । यस्तै, पु्रडेन्सियल इन्स्योरेन्सले एक अर्ब ४ करोड ५१ लाख रुपैयाँ र दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीले एक अर्ब ७ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । त्यसैगरी, आईएमई जनरल इन्स्योरेन्सले एक अर्ब ४२ करोड २२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने प्रभु इन्स्योरेन्स कम्पनीले एक अर्ब १५ करोड ४९ लाख रुपैयाँ, नेपाल इन्स्यारेन्स कम्पनीले एक अर्ब १५ करोड १० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।