२०८१ बैशाख ७ , शुक्रवार

डा. वाग्लेलाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान

सुनाखरी न्युज/ काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन निर्वाचित हुनुभएका प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. वाग्लेलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले आज एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो । बिहान सम्पन्न मतगणनामा डा. वाग्लेले ३४ हजार नौ सय ११ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गर्नुभयो । नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गर्नु भएको छ ।

 

२०७९ को मङ्सिर ४ मा भएको निर्वाचनमा तनहुँ क्षेत्र नं १ मा नेपाली काँग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलले २५ हजार ३ सय ७१ मत ल्याइ विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानाले १९ हजार ९ सय ८१ मत पाउनु भएको थियो । सोही निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवार भएका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ मत पाउनु भएको थियो । रास्वपाका वाग्ले काँग्रेस छोडेर उम्मेदवार बन्नुभएको हो । काँग्रेसका तत्कालीन वरिष्ठ नेता राष्ट्रपति बनेपछि वैशाख १० गते उपनिर्वाचन भएको थियो ।