२०८० चैत्र १५ , बिहिवार

सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्छ : रवि लामिछाने

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने बताएका छन् । मत गणनामा जित नजिक रहेका उनले सरकारलाई दिएको समर्थनबारे समीक्षा गरिने बताएका हुन् ।

उपनिर्वाचनमा चितवन–२ बाट उम्मेदवार रहेका लामिछानेले जित नजिक पुगेका छन् । पछिल्लो मतपरिणामअनुसार निकतटम् प्रतिस्पर्धी कांग्रेसका जीतनारायण श्रेष्ठलाई ४० हजार ८६४ मतले पछि पारेका लामिछानेको जित निश्चित जस्तै बनेको छ । यस क्रममा चितवनमा सञ्चारकर्मीसितको कुराकानीमा उनले सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने जनाएका हुन् । वर्तमान सरकारले विगतका भ्रष्टाचारको विषयमा छानबिन गर्न चासो नदेखाएकाले सरकारलाई समर्थन गरिरहनुको अर्थ नरहेको उनको भनाइ छ ।

 

उपनिर्वाचनमा जित नजिक पुगेका उनले चुनावी मत मरिणामले आफूहरूलाई थप जिम्मेवार बन्न प्रेरित गरेको उनले बताए । आफूहरूमा भएका कमजोरीलाई सुधारेर परिपक्व बन्न चुनावी मतपरिणामले देखाएको उनको भनाइ थियो । उनले भ्रष्टाचारविरुद्ध सशक्त रुपमा उभिने आफ्नो एजेन्डालाई जनताले अनुमोदन गरेको उल्लेख गरे । लामिछानेले भ्रष्टाचारविरुद्धको अभियानमा उभिन सक्ने सरकारमा मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी हुने दाबी गरे । यसअघि गत वर्षको मंसिर ४ मा सम्पन्न निर्वाचनमा समेत उनी यसै निर्वाचन क्षेत्रबाट भारी मतान्तरका साथ निर्वाचित भएका थिए । तर नागरिकता विवादमा सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेपछि उपनिर्वाचन भएको हो ।