२०८१ बैशाख १५ , शनिवार

फ्लाई दुबईको जहाज किन त्रिभुवन विमानस्थलमा अवतरण गरेन ?

सुनाखरी न्युज/ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि सोमबार राति उडेको फ्लाई दुबईको जहाजको इञ्जिनमा खराबी देखियो । विमानस्थलबाट उडानभरे लगत्तै उक्त जहाजको इञ्जिनमा ठूलो आवाजसहित आगोको झिल्को देखियो । विमान चालक (पाइलट) ले जहाजलाई धादिङको धार्केमाथिको आकाशमा करिब २१ हजार फिट उचाइमा करिब ११ मिनेट जहाज होल्ड गरेर जहाजको इञ्जिनको ‘कन्डिसन’ जाँच गरे । जहाजको सिङ्गल इञ्जिन खराब भएपछि आकाशमा होल्ड गरेर जाँच गरिएको थियो । त्यतिन्जेलसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा आकस्मिक अवतरणका लागि सबै संयन्त्र तैनाथ थिए ।

 

टावरका एटीसीले पाइलटसँग निरन्तर ‘कम्युनिकेसन’ गरिरहेका थिए । पाइलटले जहाज सामान्य अवस्थामा रहेको र गन्तव्य जाने भनेपछि विमानस्थलका अधिकारीले उडान खुलाउने निर्णय लिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार जहाजको इञ्जिनमा खराबी आएपछि आकस्मिक अवतरणको तयारी गरियो । राति ९ः२० मिनेटदेखि ९ः५९ सम्म विमानस्थमा अन्य जहाजको उडान रोकेर अवतरणको तयार गरिएको थियो । विमानस्थलमा दमकल, ‘लोकल स्ट्याण्डबाई’ गरियो । यो भनेको कुनै जहाजले खराबी देखिए इमर्जेन्सी भनी घोषणा गरेपछि आकिस्मक अवतरणका लागि गरिने अभ्यास र तैनाथ संयन्त्र हुन् ।

 

दमकलसहित भेहिकल, सुरक्षाकर्मी, अस्पताल सबै तयारी अवस्थामा राखियो । पाइलटले जहाज गन्तव्य पुग्छ भन्ने घोषणा गरेपछि विमानस्थलले सबै उडान खुलायो । काठमाडौँमा किन जहाज अवतरण गरिएन भनी सोधिएको जिज्ञासामा प्राधिकरणका सहायक प्रवक्ता भुलले जहाजको सबै पार्टपूर्जा जाँच गर्दा ठीक रहेको र जहाज गन्तव्य पुग्छ भन्ने पाइलटले निर्णय लिएपछि उक्त जहाज गन्तव्यतिर लागेको बताए । उनले भने, “पाइलटको निर्णय नै अन्तिम निर्णय हुन्छ । युनाइटेड अरब इमिरेट्स (युएई) मा जहाज दर्ता भएकाले उतै अवतरण गर्ने निर्णय भएको हुनसक्छ । दुवै देशमा उडान गर्ने जहाज हो समस्या आएन भने दुबईमा नै जहाज अवतरण हुन्छ ।”

यस्तो किसिमको घटनामा जहाज काठमाडौँमा अवतरण गर्न सहज हुन्छ ? भन्ने थप जिज्ञासामा सहायक प्रवक्ता भुलले त्यस किसिमको सबै क्षमता विमानस्थलमा रहेको र कथमकदाचित जहाज अवतरण गर्नुपरेको भए विमानस्थलमा अवतरण गर्न सकिने उनले बताए ।“जहाज अहिले इण्डियन एयर स्पेसमै छ । जहाजको इञ्जिनको कम्प्रेसर स्टल भएर ठूलो आवाज आएको हो कि भन्ने आशङ्का गरिएको छ । यसको विस्तृत जानकारी आएको छैन”, सहायक प्रवक्ता भुलले भने । जहाजका सम्बन्धमा नेपालको एटीसीसँग सोधपुछ गर्न सक्छन् । नेपालमा अवतरण भएको भए यहाँ प्राविधिक समिति गठन गरेर अनुसन्धान गर्नुपर्ने हुन्थ्यो । तर जहाज दुबईमै अवतरण गर्ने भएकाले दुबईको सिभिल एभिएसन अथोरिटीले प्राविधिक समिति बनाएर जहाजको अनुसन्धान गर्ने प्राधिकरणले जनाएको छ ।

 

जहाजमा आगो लागेको इञ्जिन बन्द गरिन्छ । सिङ्गल इञ्जिनमा जहाज उड्छ तर गति कम हुन्छ । गन्तव्य पुग्न दोब्बर समय लाग्ने सहायक प्रवक्ता भुलले जानकारी दिए । विमानस्थलको टावरका एटीसीले विमानचालक (पाइलट) सँग कम्युनिकेसन गरेपछि जहाज सामान्यतवरले गन्तव्यतर्फ उडेको महाप्रबन्धक तिवारीले बताए । जहाजको दुई इञ्जिन रहेकाले सुरुमा एक इञ्जिनले काम गरेको र अहिले दुवै इञ्जिन राम्ररी सञ्चालन रहेकाले जहाज गन्तव्यमै सामान्यरूपमा अवतरण हुने विमानस्थलले उल्लेख गरेको छ । उक्त जहाजमा १६७ यात्रु सवार रहेको विमानस्थलले जनाएको छ ।रासस