२०८१ बैशाख ६ , बिहिवार

माई खोला हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

IPO

सुनाखरी न्युज/ काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज (वैशाख १२ गते) अन्तिम दिन रहेको छ। कम्पनीले गत वैशाख ८ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।

 

कम्पनीले जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० को ३९ प्रतिशत अर्थात १५ करोड २९ लाख ४१ हजार १०० रुपैयाँ बराबरको रु. १०० अंकित दरको कुल १५ लाख २९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको थियो। कुल कित्तामध्ये ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि र ३० हजार ५८८ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको १२ लाख ६९ हजार ४११ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्न गरेको छ। सीडीएससीका अनुसार हिजो (वैशाख ११ गते) साँझसम्म यो आईपीओमा १० लाख ४६ हजार ६५ आवेदकबाट १ करोड १७ लाख ३० हजार १२० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ९.२४ गुणाले बढी हो।

 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित भएको छ। गोलाप्रथाबाट अब भाग्यमानी १ लाख २६ हजार ९४१ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये एकजनाले थप १ कित्ता सेयर पाउनेछन्। इच्छुकले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो कम्पनीले इलाम नगरपालिका ८ सिमफिरिंगमा ३ मेगावाट क्षमताको सुपरमाई क्यास्केड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ। यो आयोजनाको प्रतिमेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ रहेको छ।

 

यो आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र बहाल रहने अवधि २०७५ फागुन ५ गतेदेखि २११० फागुन ४ गतेसम्म गरी कुल ३० वर्ष ६ महिना बाँकी रहेको छ। आयोजनाको लगानी फिर्ता हुने अवधि सिम्पल पेब्याक पिरियड १०.०१ वर्ष तथा डिस्काउन्टेड पेब्याक पिरियड २०.७४ वर्ष रहेको छ। यो आयोजनाको कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ रहेको छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।