२०८१ जेठ ६ , आइतवार

बैशाख १९ गतेदेखि आईपीओ निष्काशन गर्दै मोदी ईनर्जी

IPO

सुनाखरी न्युज/ काठमाडौं । मोदी ईनर्जी लिमिटेडले बैशाख १९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

 

कम्पनीले जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १५ प्रतिशत अर्थात ४३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४३ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो। सोमध्ये आउने ४ करोड ३५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ३५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो भने ५ प्रतिशत अर्थात २ लाख १७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ८७ हजार कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको थियो।

 

सो शेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुबाट आवेदन नपरेको २० लाख ९५ हजार ६१० कित्ता शेयर थप गरी कुल ५९ लाख ९५ हजार ४२० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा बैशाख २४ गते हुनेछ भने ढिलोमा जेठ २ गते हुनेछ। आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीले सञ्चालन गरिरहेको २० मेगावाटको तल्लो मोदी खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न हुँदासम्म कुल लागत ६ अर्ब २० करोड रुपैयाँ रहेको छ। आयोजनाको प्रति मेगावाट लागत ३१ करोड ३ लाख रुपैयाँ रहेको छ।

 

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १२ वर्ष ११ महिना रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १७ वर्ष ८ महिना रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति २३ वर्ष बाँकी रहेको छ। कम्पनीले २०७८ असोज १४ गतेदेखि व्यवसायीक उत्पादन सुरु गरिसकेको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।