२०८१ बैशाख १३ , बिहिवार

पासाङ ल्हामुुको डकुमेन्ट्री वैशाख १० देखि प्रदर्शनमा

सुनाखरी न्युज/काठमाडौँ । पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पामाथि बनेको डकुमेन्ट्री ‘पासाङ : इन्द द स्याडो अफ एभरेस्ट’ वैशाख १० गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

 

३० औं पासाङ ल्हामु दिवसको अवसर पारेर आयोजित प्रिमियर कार्यक्रममा यो डकुमेन्ट्री दर्शकका लागि नेपाली भाषामा क्युएफएक्स हलमा प्रदर्शनमा ल्याइने जनाइएको छ ।डकुमेन्ट्रीको निर्माता शेरोन वुड र आङ दोर्जे शेर्पा हुन् । ७२ मिनेट लामो डकुमेन्ट्री यसअघि २०२२ को मार्चमा सान्ता बाबा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर भएको थियो । पहिलो पटक नेपाली दर्शकबीच देखाउँदा निर्माण टिम उत्साहित देखिन्थ्यो । ‘बाहिर देखाउँदा त विदेशीहरुले मलाई चिन्दैनन् । म रुएँ भने पनि चिन्दैनन् भन्ने थियो,’ दावाले सुनाइन्, ‘तर आज मलाई चिनेका अनि मैले चिन्ने सबैबीच बसेर हेर्दाको अनुभव छुट्टै रह्यो । यो नितान्त मेरो अनि मेरो परिवारको व्यक्तिगत कथा हो । तर, यो पुरुषले दबिएको नेपाली समाजमा ३० वर्षअघि मेरो आमाले चालेको कदमको कथा हो ।’

 

डकुमेन्ट्रीमा कसरी चौथौ पटकमा पासाङले सगरमाथा चढ्ने पहिलो नेपालीको इतिहास रचिन् भनेर देखाइएको छ । यो डकुमेन्ट्री ३० भन्दा बढी फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ । टेलुराइड, कोलोराडो, बान्फ, क्यानडा र बेलायतको केन्डल माउन्टेन फेस्टिभल र अन्य प्रतिष्ठित फेस्टिभलहरुसहित १४ पुरस्कार जितिसकेको छ ।फिल्मलाई लुक्ला, नाम्चे लगायतका सातै प्रदेशका मुख्य सहरमा प्रदर्शन गर्ने फाउन्डेशनको तयारी छ ।