२०८१ जेठ ६ , आइतवार

नेपालमा पहिलो पटक ‘नेपाल डान्स फेस्ट’ हुँदै

सुनाखरी न्युज/काठमाडौँ । नेपालमा पहिलो पटक ‘नेपाल डान्स फेस्ट’ हुने भएको छ। वैशाख १५ र १६ गते विशालबजार रुफटपस्थित बेन्टो लाउन्ज एण्ड बारमा २ दिने फेस्टिभल हुन लागेको आयोजक निशिला शाक्यले बताइन्।

 

इम्पल्स एकेडेमी अफ पर्फमिङ आर्ट्स् र बेली डान्स नेपालको आयोजानामा हुन लागेको उक्त फेस्टिभलमा नृत्य क्षेत्रका विभिन्न कलाकारहरूको सहभागिता हुनेछ। फेस्टिभलमा ३२ घण्टा वर्कसप, फरक फरक शैलीका २५ भन्दा बढी डान्सका प्रस्तुति, विभिन्न शो र लाइभ जाम हुनेछ। आफ्टर पार्टी भने अन्तिम दिन क्लब प्लाटिनममा हुनेछ। फेस्टिभलमा सहभागी हुनका लागि ५ सयदेखि १ हजार सम्मका टिकट उपलब्ध छन्। फेस्टिभलमा डान्स आर्टिस्ट लगायत सर्वसाधारणहरू समेत सहभागी हुन सक्नेछन्। फेस्टिभलमा आकर्षक स्टलका साथै विभिन्न गतिविधिहरू पनि हुनेछन्।

 

नेपालका डान्स आर्टिस्टहरूलाई एकै ठाउँ जोड्न उक्त फेस्टिभलको आयोजना गरिएको इम्पल्स एकेडेमी अफ पर्फमिङ आर्ट्स्को संस्थापक निर्देशक निशिला शाक्यले बताइन्। नेपालमा राम्रा राम्रा डान्स आर्टिस्ट हुनुहुन्छ। तर सबै जना छरपस्ट छौँ। संकटको बेला हामी कहिल्यै पनि एक हुन पाएका छैनौँ। सबैलाई जोड्ने उद्देश्यले यो फेस्टिभलको आयोजना गरेका हौँ,’ शाक्यले भनिन्। निशिला र बेली डान्स नेपालकी निर्देशक पिंकी सापकोटाले यो फेस्टको आयोजना गरेका हुन्।

 

पछिल्लो पुस्ताका डान्सहरूसँग धेरै सम्भावना भए पनि अवसर नभएकाले पछि पर्नुपर्ने बाध्यता रहेको शाक्य बताउँछिन्। उनका अनुसार डान्स कलाकारहरूको एकताका लागि पनि यो फेस्टिभलले सन्देश दिनेछ। फेस्टमा डान्सका विभिन्न शैलीबारे चर्चित तथा स्थापित कलाकारहरूबाट नयाँ कुराहरू सिक्न सकिने उनले बताइन्।