२०८१ बैशाख १५ , शनिवार

पोखरा–१५ का विपन्न मजदुरलाई स्वास्थ्य बिमा

सुनाखरी न्युज/ पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ र पोखरा कम्युनिटी सेण्टरको संयुक्त सहयोगमा पोखरा–१५ का विपन्न मजदुरहरुलाई स्वास्थ्य बिमा कार्ड वितरण गरिएको छ ।

बिहीबार आयोजित एक कार्यक्रमका विच त्यहाँका ६१ मजदुर र उनीहरुको परिवारलाई स्वास्थ्य बिमा कार्ड वितरण गरिएको हो । यो मध्ये ३६ जनाको वडाले तथा २५ जनाको कम्युनिटी सेण्टरले बिमा गराएको हो । मजदुरहरुलाई बिमा कार्ड वितरण गर्दै वडाध्यक्ष तोरणबहादुर बानियाँले पछिल्लो समय स्वास्थ्य सेवा महंगो हुँदै गएको अवस्थामा स्वास्थ्य बिमाको महत्व झनै बढ्दै गएको बताए । कार्यक्रममा सहयोगी संस्था पोखरा कम्युनिटी सेण्टरका निर्देशकद्वय पार्क र जोन तथा व्यवस्थापक निर्मला भण्डारीले पनि मजदुरहरुलाई बिमा कार्ड वितरण गरेका थिए ।

 

स्वास्थ्य बिमा कर्ता पवित्रा पौडेलले बिमा सेवाको बारेमा जानकारी गराएकी थिइन् । कार्ड प्राप्त गरेकाहरुले एक वर्ष सम्म विभिन्न १ हजार १ सय ३७ प्रकारका औषधी निःशुल्क रुपमा प्राप्त गर्ने उनले जनाइन् । कार्यक्रममा शहरी स्वास्थ्य केन्द्र वडा १५ का प्रमुख कृष्ण बाँस्तोलाले केन्द्रले दिएको सेवा तथा हाल सञ्चालन भइरहेको खोप र भिटामिन कार्यक्रमका बारेमा अवगत गराए । त्यस्तै वडा सदस्य आशिष भण्डारीले केहि दिन यता छिमेकी मुलुकहरुमा कोभिडको संक्रमण बढद्ै गएकोमा अब हामी पनि सचेत बन्नुपर्नेमा जोड दिएका थिए ।