२०८१ बैशाख ७ , शुक्रवार

आईएमई अटोमोटिभ एस्कर्टस्द्वारा महिलालाई निशुल्क हेभी इक्यूपमेन्ट अपरेटर तालिम 

सुनाखरी न्युज/काठमाडौँ । आईएमई अटोमोटिभ एस्कर्टस्ले महिलाहरुलाई निशुल्क हेभी ईक्यूपमेन्ट अपरेटर, ब्याक हो लोडर, तालिमको आयोजना गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबारदेखि सुरुभएको उक्त तालिमको उद्घाटन गर्नुभयो ।

 

कार्यक्रममा अध्यक्ष ढकालले महासंघको अध्यक्षको रुपमा आफूले राखेका पाँचवटा प्राथमिकतामा सीपयुक्त जनशक्ति उत्पादन उच्च प्राथमिकतामा रहेको बताउनुभयो । जनशक्तिलाई दक्ष बनाउन सकेमा उद्योग व्यवसायमा आवश्यक दक्ष जनशक्तिको अभाव पुरा हुने र वैदेशिक रोजगारमा जाँदा पनि प्रतिष्ठित र उच्च तलबमान पाउन सकिने हुनाले आफूले सीपमूलक तालिम र दक्ष जनशक्ति उत्पादन तथा विकासमा विशेष पहल लिने अध्यक्ष ढकालले उल्लेख गर्नुभयो । अध्यक्ष ढकालले महिलालाई सीप दिई दक्ष बनाउन सकेमा महिला सशक्तीकरणमा समेत विशेष योगदान पुग्ने धारणा राख्नुभएको छ । उहाँले यस तालिमले सीप आर्जन गरी रोजगारीको अवसर पाउने र महिलालाई हेर्ने पुरातन सामाजिक सोँचमासमेत परिवर्तन आउने बताउनुभयो ।

 

“हामीले सवारी चालक भन्ने वित्तिकै पुरुषलाई बुझ्ने गर्छौँ । तर समय बदलिएकोसँगै, हेभी ईक्यूपमेन्ट अपरेटरमासमेत महिलाहरुले आफूलाई प्रमाणित गर्न सुरुगरिसकेका छन् । तपाईहरु पनि त्यो पुरातन सोँच र धारणालाई परिवर्तन गर्दै ब्याक हो लोडरको तालिममा सहभागी हुनुभएको छ । तपाईहरुले राम्रोसँग तालिममा सहभागी भई सीप सिकेर दक्ष बन्न भरपुर प्रयास गर्नु होला । यसले सीप सिकेर रोजगारी मात्र होइन महिला सशक्तीकरणमा पनि ठूलो प्रभाव पार्नेछ,” उहाँले भन्नुभयो । तालिममा सहभागी महिलाहरुलाई सुरक्षित र प्रभावकारीरुपमा ब्याक हो लोडर अपरेशन गर्न आवश्यक सबै किसिमका सीप तथा ज्ञान प्रदान गरिनेछ । तालिममा १५ जना महिलाहरु सहभागि छन् ।