२०८१ बैशाख १५ , शनिवार

नेपालमा बढ्दै फिसिङ आक्रमण, सचेत रहन साइबर ब्यूरोको अनुरोध

सुनाखरी न्युज/काठमाडौँ । पछिल्लो समयमा नेपालमा फिसिङ आक्रमण बढ्दै गएको भन्दै साइबर ब्यूरोले सजग रहन आग्रह गरेको छ । एक सूचना जारी गर्दै फिसिङ आक्रमणको उजुरी बढेको ब्यूरोले जानकारी दिएको हो ।

 

“फिसिङ एउटा साइबर आक्रमणको जसमा अपराधीहरूले व्यक्ति तथा संस्था लगायतका निकायहरूको लग-इन विवरण, क्रेडिट कार्ड नम्बरहरू, वा व्यक्तिगत पहिचान मूलक जानकारी जस्ता संवेदनशील विवरणहरू छलकपट पूर्ण तवरले विभिन्न सामाजिक संजाल, अनलाइन, लगायतका प्रविधिको दुरुपयोग गरी इमेल, टेक्स्ट सन्देश, फोन कल आदि मार्फत खुलासा गर्न प्रोत्साहित गर्ने उद्देश्यले बैंक वा ई-कमर्स साइट जस्ता वैध संस्थाको जस्तै रूपमा आफुलाई प्रस्तुत गर्ने गर्छन्,” सूचनामा उल्लेख छ । फिसिङ आक्रमणहरूमा लिङ्क वा अन्य अट्याचमेन्ट पनि समावेश हुन सक्छ जुन क्लिक गर्दा कम्प्युटर वा मोबाइल जस्ता डिभाइसमा आफै मालवेयर डाउनलोड हुन पुग्छ र अपराधीलाई पीडितको संवेदनशील जानकारीमा पहुँच प्रदान गर्न मद्दत गर्दछ ।

 

“पछिल्लो समयमा यस प्रकारका फिसिङ आक्रमणका घटनाहरूको उजुरी बढ्दै गएको पाइएकोले शङ्कास्पद तथा अवाञ्छित लिङ्क वा अट्याचमेन्टहरू (unsolicited communications) क्लिक गर्नु अगाडि सजग रहन अनुरोध गर्दछौं,” सूचनामा उल्लेख गरिएको छ । साथै यस्तो समस्या भएमा दोहोरो संवाद वा क्लिक फरवार्ड गर्ने जस्ता क्रियाकलाप समेत नगर्न ब्यूरोले अनुरोध गरेको छ ।