२०८१ बैशाख १७ , सोमवार

एक महिनामै भित्रियो साढे २०० विद्युतीय सवारी

सुनाखरी न्युज/काठमाडौँ । चैत महिनामा विदेशबाट साढे २०० वटा विद्युतीय सवारी नेपाल भित्रिएको छ । चालू आर्थिक वर्षको ९ महिनाको तथ्यांक सार्वजनिक गर्दै भन्सार विभागले चैतमा मात्रै साढे २०० वटा विद्युतीय सवारी नेपाल भित्रिएको जानकारी दिएको हो ।

 

तथ्यांकअनुसार चैत महिनासम्ममा २४ सय ५१ वटा विद्युतीय सवारी भित्रिएका छन् । जबकी, फागुन महिनासम्मको अवधिमा २१ सय ९८ वटा विद्युतीय सवारी भित्रिएका थिए । चैत महिनामा भित्रिएका विद्युतीय सवारी चालू वर्षकै सबैभन्दा धेरै हुन् । साउनदेखि चैत महिनासम्ममा १०० किलोवाटसम्मका २३ सय ७९ वटा विद्युतीय सवारी भित्रिएका छन् । यस्तै, २०० किलोवाटसम्मका ६५ वटा र ३०० किलोवाटसम्मका ७ वटा विद्युतीय सवारी भित्रिएका हुन् ।

 

उक्त संख्याका विद्युतीय सवारी साधनको आयात हुँदा नेपालबाट ६ अर्ब ८३ करोड रुपैयाँ बाहिरिएको छ । यस्तै, १ अर्ब ९२ करोड रुपैयाँ राजश्व संकलन भएको छ । विद्युतीय सवारी आयात बढ्दा नेपालले आयात गर्नुपर्ने खनिज इन्धनको परिणाम भने घट्छ ।