२०८१ बैशाख ४ , मंगलबार

भारतमा कंग्रेस आईका नेता राहुल गान्धीको पुनरावेदन खारेज

सुनाखरी न्युज/काठमाडौँ । भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता राहुल गान्धीले २ वर्ष जेल सजायविरुद्ध दिएको पुनरावेदन अदालतले खारेज गरेको छ ।

 

गान्धीले दिएको पुनरावेदन गुजरातको सुरत अदालतले बिहीबार खारेज हुने निर्णय सुनाएको हो । एक महिनाअघि सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै २ वर्षको जेल सजाय सुनाएको थियो । गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरकाे बारेमा गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा दायर गरेका थिए । एउटा भाषणमा प्रधानमन्त्री मोदीको आलोचना गर्ने क्रममा गान्धीले सबै चोरहरूको मोदी साझा थर कसरी भयो भन्ने प्रश्न गर्दै अभिव्यक्ति दिनुभएको थियो ।

 

उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा दायर गरेकाे थियाे । सुरत जिल्ला अदालतले गान्धीलाई आफ्नो फैसलाविरूद्ध पुनरावेदन गर्ने भए ३० दिनको समय दिएको थियो ।अदालतले गान्धीलाई तत्कालका लागि धरौटीमा छोडेको थियो । अदालतले २ वर्षको जेल सजाय सुनाएसँगै लोकसभा सचिवालयले गान्धीको सांसद पद निलम्बन गरेको थियो । एजेन्सी