२०८१ जेठ ५ , शनिवार

मेन्छियाम हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

IPO

सुनाखरी न्युज/काठमाडौँ । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज वैशाख ७ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत वैशाख ४ गतेबाट सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

 

यो कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल १० लाख ८५ हजार १६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ८ हजार ५१७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकिएको छ। त्यस्तै ५ प्रतिशतले हुन आउने ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ९ लाख ३४ हजार ९१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

 

सीडीएससीका अनुसार आज वैशाख ६ गते साँझसम्म यो आईपीओमा ९ लाख ५९ हजार ८९ आवेदकबाट १ करोड ६ लाख २८ हजार २५० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ११.३७ गुणाले बढी हो। मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित भएको छ। जसमा भाग्यमानी ९३ हजार ४९१ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनै भाग्यमानीमध्ये ५ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।

 

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आईपीओ भर्न सकिन्छ। मेन्छियाम हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।