२०८१ जेठ ५ , शनिवार

शेयर बजारमा सुधार

सुनाखरी न्युज/ काठमाडौँ । केहि दिन यता निरन्तर गिरावट आएको शेयर बजारमा आज बुधबार भने सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन बुधबार दोहोरो अंकले बढेर बन्द भएको छ ।

आज नेप्से १५.१३ अंकले बढेर एक हजार ९ सय २० दशमलब १२ विन्दुमा बन्द भएको हो ।त्यस्तै, शेयर बजारमा सुधार आए पनि कारोबार रकम भने बढ्न सकेको छैन । आजको कारोबार पनि एक अर्ब पुग्न सकेको छैन । आज ८७ करोड चार लाख २१ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका १६७ कम्पनीको शेयरमूल्य बढेको छ भने ४१ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७३४.४० रुपैयाँ पुगेको छ भने मोलुङ हाइड्रोपावरको शेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता २२६.९० रुपैयाँ पुगेको छ । त्यस्तै, आज गुँरास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.५९ अंकले बढेर प्रतिकित्ता ७६६ रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी स्वाभलम्बन लघुवित्त वित्तीय संस्थाको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज ८ करोड ८३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।