२०८१ बैशाख १६ , आइतवार

मर्जरमा जान लागेका प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्सले एकै दिन गरे साधारणसभा

सुनाखरी न्युज/ काठमाडौँ । बीमा क्षेत्रमा हुन लागेको ‘बिग मर्जर’का लागि सम्वन्धित तीन बीमा कम्पनीले बुधबार साधारणसभा गरेका छन् । प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले आज साधारणसभा गरेका हुन् ।

 

प्राइम र युनियनको विशेष साधारणसभा हो भने गुराँसको भने नियमित बार्षिक साधारणसभा हो । सभामार्फत उनीहरुले मर्जरको प्रस्ताव पारित गरेका छन् । गुराँसले भर्चुअल माध्यमबाट साधारणसभा गर्यो भने बाँकी दुईले भौतिक उपस्थितिमै सभा गरे । तीन वटै कम्पनीले १:१ को स्वाप रेसियोमा मर्जरमा जाने तयार रहेको प्रस्ताव पारित गरेका छन् । गुराँसको सभाले आर्थिक बर्ष २०७८–७९ को मुनाफाबाट शेयरधनीलाई १३.२७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

 

तीन कम्पनीबीच मर्जर भएपछि नयाँ कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स हुनेछ । यी कम्पनीहरुले यही बैशाखभित्रै आफ्नो एकीकृत कारोबार सुरु गर्ने तयारी पनि गरेका छन् । प्राइम लाइफका सञ्चालक समिति सदस्य पियुस अर्यालले मर्जरपछि बन्ने कम्पनी तेस्रो ठूलो जीवन बीमा कम्पनी हुने पक्का रहेको बताए । उनले जनशक्तिको क्षमता विकास र जोखिममा आधारित पुँजीका लागि मर्जर नै सबैभन्दा उपयुक्त रहेको सबै शेयरधनीले ठहर गरेको बताए ।