२०८१ बैशाख १३ , बिहिवार

कोशी प्रदेशका कृषि उद्यमीहरूलाई सशक्त बनाउँदै आध्यन्त एक्सिलेरेटर कार्यक्रम

सुनाखरी न्युज/ काठमाडौँ । बिर्तामोड, कोशी प्रदेश – कोशी प्रदेशका कृषि उद्यमीहरूलाई नवप्रवर्तन र आर्थिक वृद्धि तर्फ अग्रसर गराउने उद्देश्यका साथ सञ्चालन भइरहेको आध्यन्त एक्सिलेटर कार्यक्रम अन्तर्गतको पहिलो तीन दिने “बुट क्याम्प” वैशाख ५ गते सम्पन्न भएको छ।

 

आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेड, सहज(एनएएमडीपी नेपाल कृषि बजार विकास कार्यक्रम, एफएनसीसीआई प्रदेश १ च्याप्टर र कोशी प्रदेशको लगानी प्राधिकरणको संयुक्त आयोजनामा बिर्तामोडमा भएको उक्त कार्यक्रममा चिया, टिस्यु कल्चर, मेसिनरीलगायत विभिन्न पृष्ठभूमिका ११ वटा उद्यमीहरूको सहभागिता रहेको थियो । उक्त बुटक्याम्पमा शिवबाबा अचार जुस उद्योग, रक्तकाली टि स्टेट, सिद्धिदेवी डेरी, मङ्कसहुड कृषि फर्म, एग्री सेन्टर, दिब्यदृष्टि भेनेरेसन एण्ड एग्रो प्रा।लि, मान्यता सायन कृषि बहुउद्देश्यीय फार्म, विराट ग्रुप, खेतीपाती अर्गानिक्स, रामधुनी चिउरा मिल, र रिभर्स भेन्डिङ मेसिन नेपाल प्रा। लि। को सहभागिता रहेको थियो। आध्यन्त एक्सिलेरेटर कार्यक्रम को प्राथमिक लक्ष्य कृषि उद्यमीहरूलाई आफ्नो व्यवसाय बढाउन आवश्यक सीप र ज्ञान प्रदान गरी पूँजीमा पहुँच पुर्याउन सहयोग गर्नु रहेको छ।

 

तथापी कार्यक्रमको बृहत उद्देश्य कोशी प्रदेशका स्थानीय कृषि उद्यमीहरूलाई सहयोग गर्नु र समग्र प्रदेशकै आर्थिक विकासलाई प्रवर्द्धन गर्नु हो। कार्यशालाको प्रारूपमा सञ्चालित कार्यक्रमलाई सह(आयोजक संस्था अन्तरप्रेरणाका निरज कार्कीले सहजीकरण गर्नुभएको थियो। बुट क्याम्पले बजार अनुसन्धान, वित्तीय योजना र लगानी प्राप्तिको तयारी लगायत व्यवसाय विकाससंग सम्बन्धित विभिन्न पक्षहरूलाई समेटेको थियो। सहभागीहरूले विभिन्न क्षेत्रका अनुभवी प्रशिक्षक तथा वक्ताहरू, साथै अन्य सहभागी उद्यमीहरूसंग आफ्ना विचार तथा अवधारणाहरूको आदानप्रदान गरेका थिए।

 

आध्यन्त एक्सिलेरेटर कार्यक्रम का सहभागीहरू अब प्रतिस्पर्धी कृषि क्षेत्रमा व्यवसायलाई थप विस्तार गर्नको लागि आवश्यक अन्तरदृष्टि र सीपहरू प्राप्त गरी अझ राम्रोसँग सुसज्जित भएको बताएका छन्। उनीहरूले यस कर्यक्रमले आफ्नो व्यवसाय बढाउन र लगानीकर्ताहरूलाई आकर्षित गर्न मद्दत गर्ने पनि बताए। आध्यन्त एक्सिलेरेटर कार्यक्रम अन्तर्गत सञ्चालित पहिलो बुट क्याम्पको सफलताले कोशी प्रदेशमा कृषि उद्यमशीलताको सम्भावनालाई थप उजागर गरेको आयोजकहरूले बताएका छन्। प्रदेशका उद्यमीहरूलाई थप सहयोग गर्न र लगानीको लागि तयार पार्नको लागि यस्तै खालका थप दुई बूट क्याम्पहरूको योजना पनि बनाइरहेको आयोजकहरूले बताएका छन्।