२०८० चैत्र १५ , बिहिवार

भारतमा उच्च गर्मीका कारण दुई दशकमा २२ हजारको मृत्यु

सुनाखरी न्युज/काठमाडौँ । सन् २०२० मा ‘द मिनिस्ट्री फर द फ्युचर नामक उपन्यासमा लेखक किम स्टेनली रोबिनसले भारतको उच्च गर्मीको चर्चा गरेका छन् । हजारौँको ज्यान लिने तापमानबारे उनले लेखेका छन्, ‘भारतमा आकाश परमाणु बम जत्तिकै बल्छ । त्यसको तापले अनुहार नै जल्छ । पानीले पनि शीतलना दिँदैन । हावा पनि चिसो बहँदैन । मानिसहरूको प्राण पखेरू भटाभट उड्छ ।’

 

रोबिनसनको यो वाक्यांश कल्पना गर्दै त भयानक छ भने उच्च तापमानको मार सहनु परेकाहरूको पीडा झनै दर्दनाक छ । गत साता मात्रै भारतमा उच्च तापमानका कारण १२ जनाको ज्यान गयो । महाराष्ट्रमा तापमान वृद्धिका कारण हजारौँ विरामी भएर अस्पताल पुगेका छन् । भारत उच्च तापमानको जोखिममा रहेका मुलुकमध्येको देश हो । भारतमा दिन र रात दुवैमा तापमान उच्च हुने गरेको छ । सन् २०५० सम्म भारतमा दुईदेखि चार गुणासम्म तापमान बढ्ने आकलन गरिएको छ । भारतमा उच्च तापमानको लहर सबैभन्दा पहिले आउने र लामोसमय सम्म रहने प्रक्षेपण गरिएको छ ।

मे महिनाभर भारतमा उच्च तापमान रहने मौसम कार्यालयले जनाएको छ । सन् १९०१ देखि सन् २०१८ को तथ्यांक हेर्ने हो भने भारतमा तापमान ०.७ प्रतिशतले हरेक वर्ष बढिरहेको छ । सन् १९९२ देखि सन् २०१५ सम्मको तथ्यांक केलाउँदा भारतमा गर्मीका कारण २२ हजार मानिसको ज्यान गएको छ । ‘यो संख्या अझै उच्च हुनसक्छ । मृत्युको तथ्यांक राम्रोसँग नराख्दा उच्च तापमानको कारण मृत्यु भएकाहरू कम देखिएका हुन्,’ स्वास्थ्यकर्मी दिलिप मभालंकर भन्छन् ।

 

उनका अनुसार सन् २०१० मा अहमदावादमा मृत्यु भएकामध्ये ८ सय जना गर्मीले मरेका थिए । यो संख्या अघिल्लो वर्षको तुलनामा बढी रहेको उनले बताए । त्यसबखत तापमान ४५ डिग्री सेल्सियस पुगेको थियो । त्यसपछि सन् २०१३ मा गुजरातमा गर्मीको समयमा बाहिर ननिस्किने र प्रशस्त पानीको प्रबन्ध मिलाउनुका साथै अस्पतालमा सुविधा थप्ने काम भएको उनले बताए । सन् २०१८ मा गुजरातमा उच्च तापमानले मृत्यु हुनेको संख्यामा एक तिहाइले कमी आएको उनले बताए । तर भारतको सबै राज्यमा गुजरातको जस्तो स्थिति छैन । मुम्बईमा गर्मीको समयमा खुला स्थानमा आउन प्रोत्साहन गरिन्छ । यो नीतिमा निकै खराबी रहेको विज्ञ आदित्य पियाली बताउँछन् । ‘स्थानीय स्थितिलाई हेरेर बनाइएको योजनाले संभावित संकटलाई छोएको छैन,’ उनले भने । उच्च तापमानको क्षती न्युनीकरणका लागि बनाइएका ३७ योजनामध्ये १० वटा मात्रै कार्यान्वयनमा आएका थिए । ‘खुला आकाशमा जम्मा गर्नुको साटो गाउँ–गाउँमा स्वचालित मौसम स्टेशनहरूको संख्या बढाइनुपर्थ्यो,’ पियाली भन्छन् । यस्तै महाराष्ट्रको योजनाले खेतमा काम गर्ने किसान, बुढाबुढी र बालबालिका लक्षित कुनै योजना नबनाएको उनले बताए ।

 

भारतमा प्रत्येक ४ मध्ये तीन मजदुर कोइला खानी तथा निर्माणमा काम गर्ने भेटिन्छन् । उनीहरू सबैभन्दा बढी जोखिमा छन् । ‘खानीमा काम गर्ने कामदार उच्च जोखिमा छन् । तर उनीहरू लक्षित कुनै योजना छैन,’ अनुसन्धानकर्ता लुक पार्सन भन्छन् । उच्च तापमानसँग जुध्न बनाइएका नीति कार्यान्वयनका लागि कम लगानी गर्दा सफलता पाउन नसकेको विज्ञहरू बताउँछन । उच्च तापमानको जोखिम भएको ठाउँमा प्रशस्त रूख रोप्न उनीहरूको सुझाव छ । यस्तै माथिल्लो तलामा बस्नेहरूलाई तल्लो तलामा सार्दा पनि जोखिम कम हुने पियालीको भनाइ छ । भारतमा सन् २००० देखि २००४ र २०२१ को बीचमा उच्च तापमानका कारण मृत्यु हुनेको संख्या ५५ प्रतिशतले बढेको पाइएको मेडिकल जर्नल ल्यान्सेटमा उल्लेख छ ।

 

उच्च तापमानका कारण १ करोड ६७ लाख मजदुर पूर्णरूपमा काम गर्न असम्भव भएकाले राष्ट्रको कूल ग्राहस्थ उत्पादनमा पनि ५ प्रतिशले कमी आएको तथ्यांक छ । यद्यपि भारतले अझै पनि यसको निराकरणका लागि प्रभावकारी कदम नचालेको जानकारहरू बताउँछन् । आइतबार मुम्बइको तापक्रम ३८ डिग्री सेल्सियस मापन भएको थियो । तथापी हजारौँ मानिसहरू खुला स्थानमा भेला भएका थिए । तीमध्ये केहीले मात्रै छाता बोकेका थिए । ‘म दिल्लीमा बस्छु र त्यहाँको तापमान ५० डिग्री सेल्सियससम्म पुग्न सक्छ तर निकै कमले छाता बोक्छन्,’ पिलाइ भन्छन् ।एजेन्सी