२०८१ बैशाख १३ , बिहिवार

विद्यार्थीको आन्दोलनपछि खुल्यो एनओसी

सुनाखरी न्युज/काठमाडौँ । ‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका–२०७९’ कार्यान्वय नहुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)काे निर्देशनमा तत्काल निर्देशिका कार्यान्वयन नहुने भएको हो ।

 

प्रधानमन्त्री तथा मन्त्रीपरिषदले नयाँ निर्देशिका कार्यान्वयन हुनुपूर्वको अवस्था अनुसार विद्यार्थीलाई एनओसी दिन निर्देशन दिएको हो । पुरानै व्यवस्था अनुसार एनओसी वितरण हुने प्रधानमन्त्री प्रचण्डका प्रमुख स्वकिय सचिव रमेश मल्लले बताए । व्यवसायीहरुले प्रधानमन्त्रीको निर्देशनको स्वागत गरेका छन् । नेकपा माओवादी केन्द्र शैक्षिक परामर्श शाखा कमिटी अध्यक्ष युवराज कटुवालले प्रधानमन्त्रीको निर्देशन सकारात्मक भएको भन्दै स्वागत गरेका छन् । उनले भने, ‘हाम्रो विशेष जोडमा प्रधानमन्त्रीले निर्देशन जारी गरेर निर्देशिकालाई होल्ड गर्नुभएको छ, यसको हामी खुलेर स्वागत गर्छौँ।’

 

यसअघि विभिन ८ संगठनले संयुक्त तथा छुट्टा छुट्टै भेटेर शिक्षा मन्त्री लगायतलाई ज्ञापनपत्र बुझाएका थिए भने विद्यार्थीले नयाँ बानेश्वरमा प्रदर्शन समेत गरेका थिए । नेपाल शैक्षिक परामर्श संघ (इक्यान), राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका), स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन), नायर, आईरिन, जालसान लगायतका संस्थाहरुले संयुक्त रुपमा तथा बेग्लाबेग्लै ज्ञापनपत्र बुझाएका थिए ।