२०८१ बैशाख १४ , शुक्रवार

बैशाख १३ गतेदेखि आईपीओ निष्काशन गर्दै ईङवा हाइड्रोपावर

IPO

सुनाखरी न्युज/ काठमाडौँ । ईङवा हाइड्रोपावर लिमिटेडले बैशाख १३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

 

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि छुट्याएको थियो। सोमा आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरि बाँडफाँट नभएको २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको शेयर थप गरी कुल १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। जसमध्ये १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने २९ हजार ८६३ कित्ता शेयर कर्मचारीहरुको लागि तथा ७४ हजार ६५८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ। सर्वसाधारण लगानीकर्ताले अब कुल १२ लाख ६८ हजार ६३९ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

 

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सो आईपीओमा बैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि बैशाख २७ गतेसम्म लम्बिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

 

कम्पनीले प्रबर्धन गरिरहेको ९.७ मेगावाटको ईङवा खोला साना जलविद्युत आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड १० लाख ३० हजार ९०० रुपैयाँ रहेको छ भने आयोजनाको कुल अनुमानित लागत १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र बहाल अवधि ३१ वर्ष बाँकी रहेको छ। आयोजनाको लगानी फिर्ता हुने अवधि ५.५५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ९.४० वर्ष रहेको छ।