२०८१ जेठ ७ , सोमवार

महासंघ एशोसिएट समूहमा डा. रामशरण थपलियालाई सर्वाधिक मत

सुनाखरी न्युज/काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट समूहतर्फको सदस्यमा डा. रामशरण थपलियाले लोकप्रिय मत प्राप्त गरेका छन् । गत साता राजधानीमा भएको निर्वाचनमा एसोसिएटतर्फ १९ पदका लागि २९ जनाले उम्मेदवारी दिएका थिए ।

कुल १६ सय ४९ मत खसेकोमा सबैभन्दा धेरै डा. थपलियाले १४ सय ६३ ल्याएका हुन् । नेपाल निर्यात परिषदका द्वितीय उपाध्यक्षसमेत रहेका थपलिया यसअघि २०७३ मा पनि महासंघ सदस्यमा निर्वाचित भएका थिए । लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय थपलिया ठमेल पर्यटन विकास परिषद्को पूर्वअध्यक्ष हुन् । दोस्रो लोकप्रिय मत मनोज पौडेलले १३७३ र तेस्रोमा आनन्दकुमार बगडियाले १३६४ मत प्राप्त गरेका छन् ।

 

थपलिया कानुन र पर्यटन क्षेत्रमा स्थापित छन् । दोस्रो कार्यकाल महासंघ कार्यकारिणी समितिमा रहेकाले उनलाई महत्वपूर्ण समितिको जिम्मेवारी दिइने महासंघले जनाएको छ । थपलियालाई अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि सदस्य निर्वाचित भएकोमा बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना दिएका छन् ।