२०८१ बैशाख ७ , शुक्रवार

भीम र कुशलको अर्धशतक, मलेसियामाथि नेपालको सहज जित

सुनाखरी न्युज/ काठमाडौं ।
नेपालले एसीसी प्रिमियर कप क्रिकेटमा मंगलबार मलेसियामाथि ६ विकेटको सहज जित हात पारेको छ । भीम र कुशलले चौथो विकेटमा १ सय १२ रनको साझेदारी गरेपछि नेपालले २ सय ३६ रनको लक्ष्य ३६.२ ओभरमै पूरा गरेको हो ।

भीमले ७१ रन बनाए । नेपाल विजय भन्दा ५ रनको नजिकको समयमा आउट भएका भीमले ९८ बल खेली ५ चौका प्रहार गरे ।

 

कुशलले अविजित ७० रन बनाए । उनले ४० बल खेली समान ५ चौका र छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरी ३ बलमा ५ रन बनाई अविजित रहे ।

नेपालको सुरुआत भने राम्रो थिएन । आसिफ शेख पहिलो ओभरमै १ रनमा आउट भए । उनलाई मोहम्मद वाफिकले कट एन्ड बोल्ड गरे । कुशल भुर्तेल र भीमले दोस्रो विकेटमा ४८ रनको साझेदारी गरे । कुशलले ३१ बलमा ५ चौका र २ छक्कासहित ३८ रन बनाए ।

कप्तान रोहित पौडेलले पनि छिटो गतिमा रन बनाए । उनले ४३ बल खेली ५ चौकासहित ४२ रन बनाए । २२ औं ओभरमा उनले क्याच दिँदा नेपालको खातामा १ सय १९ रन थियो । त्यसपछि भीमले संयमित र कुशल मल्लले आक्रामक खेल्दै नेपाललाई विजयी बनाए ।

यसअघि कप्तान अहमद फैज र विरनदीप सिंहले सतकीय साझेदारी गरेपछि मलेसियाले नेपाललाई २ सय ३६ रनको लक्ष्य दिएको थियो । मलेसियाले तुलनात्मक रूपमा बलियो मानिएको नेपालविरुद्ध राम्रो स्कोर बनाएर चुनौती दिएको थियो ।

सेप्टेम्बरमा पाकिस्तानले आयोजना गर्ने एसिया कपको छनोटको आधार रहेको प्रतियोगिताको पहिलो खेलमा मलेसियाले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाई २ सय ३५ रन बनाएको थियो ।