२०८१ जेठ ६ , आइतवार

महासंघका नवनिर्वाचित पदाधिकारीलाई अर्थमन्त्री डा. महतको बधाई

सुनाखरी न्युज/ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले बधाइ तथा शुभकामना दिएका छन् । नवनिर्वाचित पदाधिकारीसँगको सोमबार आयोजित भेटघाट कार्यक्रममा डा. महतले सफल कार्यकालको शुभकामना दिएका हुन् ।

 

वर्तमान समयमा निजी उद्योगी व्यवसायीहरुमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस हुन्छ । तर केही नहुने अवस्थामा हामी पुगिसकेका छैनौं, केही अप्ठ्यारा र व्यवधान छन्, सरकार र निजी क्षेत्र मिलेर यी अप्ठ्यारा र व्यवधान हटाउनुपर्नेमा अर्थमन्त्री डा. महतले जोड दिए । उनले भने, ‘महासंघको नेतृत्व बैंकर्सको हातमा पुगेको छ, देशको अर्थ व्यवस्थाबारे जानकार हुनुहुन्छ, समाधान गर्ने पहल गरौं । यो अप्ठ्यारोमा एकअर्कालाई सहयोग गर्ने समय हो । सहज अवस्थामा कसैले कसैलाई सहयोगको आवश्यकता पर्दैन, अप्ठ्यारो समयमै सहयोग गर्नुपर्छ ।’

 

‘सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । यो देखिएको सत्य हामी राजनीतितन्त्रदेखि प्रशासनले स्वीकार गर्नुपर्छ । म स्वीकार गर्न तयार छु । सबै कुरामा हामीले सुधार ल्याउनुपर्छ । देशको इफिसेन्सी बढाउने चुनौति छ’, डा. महतले भने, ‘हामी नीतिगत रुपमा धेरै कुरा भनेका छौं, तर त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सकिएको छैन ।’आर्थिक क्षेत्रमा कार्यान्वयन गर्ने विषय अन्य राजनीति विषय र आर्थिक दायित्वबीचको तदम्य नहुँदा कतिपय समस्या सिर्जना भएको छ । बढ्दो साधारण खर्चले निम्त्याएको दायित्वले आर्थिक श्रोतको पहिचान र परिचालनलाई राजनीतिक क्षेत्रबाट तादम्यका साथ हामीले सँगसँगै लैजानुपर्थ्याे । तर राजनीतिक निर्णय एकपछि अर्को हुँदै गयो, त्यसमा हामीले प्रतिस्पर्धा गर्दै गइयो, परिवेश र वास्तविकता अर्कोतिर थियो । हामीले यथार्थ विश्लेषण गरेर आफ्नो क्षेत्रबाट कति योगदान दिन सक्छौं, अहिलेको परिवेशमा त्यो महत्वपूर्ण भएको अर्थमन्त्री डा. महतले बताए ।

 

यही पृष्ठभूमिमा राष्ट्र बैंकको नेतृत्वसँग औपचारिक र अनौपचारिक छलफल आफूले गरेको भन्दै डा. महतले भने, ‘आर्थिक सूचांक अब सकरात्मक हुनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको मौद्रिक नीतिमा जहिले चासो राखेको हुन्छ । उनीहरुको सल्लाह सुझावमा पुराना नीतिहरु समय सापेक्ष बनाउने पहल गरिएको हो ।’निजी क्षेत्रले पनि वास्ताविकता यो हो भन्नुहोस्, मौद्रिक नीतिलाई सम्बोधन गर्न सरकार तयार रहेको मन्त्री डा. महतले बताए । ब्याजदर बढ्दा अर्थतन्त्रमा समस्या देखियो । अहिले बैंकर्स एसोसियसनले ब्याजदरमा हेरेफेर गरेको छ, यसले अहिलेको अप्ठ्यारालाई थोरै भए पनि सहज गर्न मद्दत गर्न सक्छ ।