२०८१ बैशाख ८ , शनिवार

दुई सुरक्षा निकायबीचको झडपमा सुडानमा कम्तीमा ५६ जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं ।
सुडानमा दुई सुरक्षा निकायबीच द्वन्द्व चर्किँदा कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने करिब ६ सय जना घाइते भएका छन् । सेना र र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच झडप भएको हो ।

सुडानको राजधानीमा घण्टौंसम्म भएको झडपमा परी अहिलेसम्म कम्तीमा पनि ५६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था गार्डियनले उल्लेख गरेको छ ।

मृत्यु हुनेमा १७ जना सैनिक रहेको सुडानको चिकित्सक संगठनले जनाएको छ ।

 

खार्तुममा विस्फोट र गोलाबारीको आवाज सुनिएको त्यहाँका स्थानीयले बताएका छन् । आरएसएफ र सेनाले राष्ट्रपति रहने क्षेत्र‚ खार्तौम विमानस्थल र अन्य महत्त्वपूर्ण क्षेत्र आफ्नो नियन्त्रणमा रहेको दाबी गरेका छन् । उक्त आरोपको खण्डन गर्दै शनिबार त्यहाँको सेनाले ओमदुर्मानमा रहेको आरएसएफको बेसक्याम्प रहेको क्षेत्रमा एयरस्ट्राइक प्रहार गरेको थियो । उक्त स्ट्राइकपछि दुवै पक्षबीच गोली हानाहान भएको थियो । आक्रमण गर्नुपूर्व त्यहाँको सेनाले शनिबार नागरिकलाई घरबाट बाहिर ननिस्कन सूचना जारी गरेको थियो ।

सुडानस्थित चिकित्सक संगठनका अनुसार उक्त झडपमा परी खार्तौम विमानस्थलमा २ सहित ५६ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार आरएसएफ र सेनाबीच भएको दोहोरो भीडन्तमा परी संयुक्त राष्ट्रसंघ र विश्व खाद्य संगठनका लागि काम गर्दै आएका ३ जनाको पनि मृत्यु भएको छ । सन् २०२१ मा सैन्य कु भएपछि आर्मीले नै त्यहाँको राज्य सञ्चालन गर्दै आएको छ । सन् २०२१ अक्टुबर २५ मा सुडानी मिलिटरी जनरल अब्देल फत्ताह अल-बुरहानले सत्ता आफ्नो हातमा लिएपछि सुडानको राज्य सञ्चालन त्यहाँको सेनाले गर्दै आएको छ ।

सुडानको खार्तौममा मानिसहरू भागाभाग गरेको दृश्य अहिले समाजिक सञ्जालमा भाइरल छ । बीबीसीका अनुसार अझै पनि गोलीका आवाजहरू सुनिइरहेका छन् । ‘गोलाबारी अझै चलिरहेको छ । सबै मानिसहरू घरभित्रै बसिरहेका छन् । यहाँ एकदम डरलाग्दो र दर्दनाक छ‚’ स्थानीयको भनाइ उद्धृत गर्दै बीबीसीले लेखेको छ ।