२०८१ बैशाख ७ , शुक्रवार

पदभार ग्रहण गर्दै चन्द्र ढकालले भने निजी क्षेत्रलाई हेर्ने नजर फेर्छु

सुनाखरी न्युज/ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पदभार ग्रहण गरेका छन् । आइतबार महांसघको कार्यालयमा उनले पद बहाली गरेका हुन् ।

 

पदभार ग्रहण गर्दै अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघमा मेलमिलाप केन्द्र स्थापना गर्ने घोषणा गरेका छन् । यसका साथै उनले निजी क्षेत्रको मनोवल बढाउनका लागि काम गर्ने बताए । अध्यक्ष ढकालले साना तथा ठूला व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

 

निजी क्षेत्रलाई राम्रो नजरले हेर्ने नगरिएको गुनासो गर्दै ढकालले भने, ‘निजी क्षेत्रहरूलाई राम्रो नजरले हेर्ने गरिँदैन । निजी क्षेत्रलाई पहिलादेखि नै राम्रो दृष्टिकोणले हेर्ने गरिएको छैन । अहिले बिस्तारै परिवर्तन भइरहेको छ । तर, यो पर्याप्त छैन । यसको लागि म काम गर्छु ।’ युवाहरूको मनोबल खस्किरहेको अवस्था छ, यसलाई कसरी हेर्नु भएको छ भन्ने प्रश्नमा ढकालले भने, ‘नेपालमा युवाहरूमा नैराश्य छ भन्ने कुरा म मान्दिन । किनभने नेपालमा पनि यस्ता व्यवसायी पनि छन् जसले जिरोबाट सुरु गरेर आफ्नै पौरखले हजारौँ व्यक्तिलाई रोजगारी दिएको छ । करोडौँ, अर्बौँ रुपैयाँको राजस्व तिरिरहेका छ ।’

 

जिरोबाट हिरो बन्न सक्ने वातावरण नेपालमा पनि रहेको उनले बताए । ढकालले भने, ‘जिरोबाट अर्बौँ कमाएका व्यक्तिहरू पनि नेपालमै छन् । यसले गर्दा पनि मलाई नेपालमा अवसर धेरै छ जस्तो लाग्छ । इमानदार हिसाबले काम गर्ने हो भने रिजल्ट पनि राम्रो नै आउँछ ।’उनका अनुसार आर्थिक अवस्था कमजोर हुँदा आफूसँग भएका आइडियाहरू अगाडी बढाउन गाह्रो भए पनि अहिले त्यस्तो नरहेको उनले जानकारी दिए । कोही व्यक्तिले केही गर्न खोज्यो भने जताबाट पनि ऋण पाउँछ । नेपाल उद्योग वाणिज्य महासङ्घले पनि स्टार्टअप मार्फत सहयोग गरिरहेको छ ।

 

निवर्तमान अध्यक्ष शेखर गोल्छाले ढकाललाई कुर्सी हस्तान्तरण गर्दै भने, ‘नयाँ इनर्जेटिक टिम आएको छ । महासङ्घको नेतृत्व यस्तो व्यक्तिले गरिराख्नु भएको छ, जो हिजोका दिनमा भुईँबाट उठेर नेपालको सबैभन्दा ठूलो व्यवसायी बन्नु भएको छ । उहाँले उद्योगी व्यवसायीको समस्या के हो भनेर राम्ररी बुझ्नु भएको छ ।’ अर्थतन्त्रमा अहिले देखिएको समस्या समाधान गर्न नयाँ अध्यक्ष लगायतका टिमले भूमिका निर्वाह गर्नु पर्ने उनले औँल्याए । आफूले पनि अहिलेको नयाँ नेतृत्वसँग सहकार्य गरेर अगाडी बढ्ने उनले बताए ।

 

‘खासगरि अहिले असाध्यै चुनौतीपूर्ण समय रहेको छ । उहाँको नेतृत्वले कसरी जिम्मेवार बनेर यस्ता समस्याहरूलाई गर्न सकिन्छ भन्ने सहयोग गर्नु हुनेछ’, गोल्छाले अगाडी भने, ‘हामी आर्थिक चपेटामा छौँ । मन्दीको अवस्था छ । यस्तो बेला उद्योगी व्यवसायीको मनोबल एकदमै कमजोर रहेको छ । तरलताको समस्या र बढ्दो ब्याजदरले समस्या निम्त्याएको छ ।’