२०८१ बैशाख ८ , शनिवार

एनआइसी एशिया बैंकका सल्लाहकार ‘सुप्रवल जनसेवाश्री’बाट विभूषित

सुनाखरी न्युज/काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एनआईसी एशिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार तथा प्रतिष्ठित उद्योगी व्यवसायी जगदीशप्रसाद अग्रवाललाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान गरेका छन् ।

 

संविधान दिवसको अवसरमा गत असोज ३ गतेका दिन घोषित विभूषण आज(शुक्रबार) महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालयमा आयोजित एक समारोहका बीच राष्ट्रपति पौडेलले प्रदान गरेका हुन् । आफ्ना संस्थापक अध्यक्षले प्रतिष्ठित सम्मान पाएको उल्लेख गर्दै एनआइसी एशिया बैंकले अग्रवाललाई बधाई ज्ञापन र राष्ट्रपतिप्रति कृतज्ञता ज्ञापन गर्दै विज्ञप्ति जारी गरेको छ ।

 

छदशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा खटिँदै एक सफल उद्योगी व्यवसायीको स्थापित अग्रवालले कुशल व्यवसायिक रणनीतिकार एवम् उत्कृष्ट व्यवस्थापकको रुपमा अनुकरणीय उद्यमशिलतामार्फत राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएका समेत विज्ञप्तिमा उल्लेख छ ।

 

अग्रवाल विशाल ग्रुपका अध्यक्ष हुन् । उनको मैनावती स्टिल इन्डष्ट्रिज, कमला आइरन एण्ड स्टिल इन्टरनेसल प्रा. लि., कमला रोलिङ मिल्स प्रा.लि. तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा संलग्नता छ । उनको विभिन्न बैंक, बीमा कम्पनी र अन्य वित्त कम्पनीहरुमा लगानी गरेका छन् ।