२०८१ बैशाख १४ , शुक्रवार

चितवनमा भ्रम हट्दै गएकाले जित एमालेको हुन्छ : भट्टराई

सुनाखरी न्युज/ चितवन। नेकपा (एमाले)का सचिव योगेश भट्टराईले चितवनमा आसन्न उपनिर्वाचनमा बहुसंख्यक जनताले एमालेको पक्षमा मत जाहेर गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

 

भरतपुर–१२मा पार्टीका स्थानीय कार्यकर्ताले शनिबार गरेको चुनावी घरदैलोमा सहभागी हुँदै सचिव भट्टराईले नयाँ पार्टीप्रति जनतामा आशाको भ्रम पैदा भएको र त्यो दिनानुदिन हट्दै गएको दाबी गर्नुभयो । “यो निर्वाचन क्षेत्र एमालेको राम्रो प्रभाव भएको ठाउँ हो, विगत निर्वाचनमा केही भ्रमहरु सिर्जना गरिए । अहिले भ्रमहरु हट्दै गएको पाएँ । एमालेको जित हुनेमा विश्वस्त छु” कार्यकर्ता माझ भट्टराईले भन्नुभयो । जनतामा सुशासनको लोकप्रिय नारा लगाउँदै मत पाएर गएकाले चार महिनामै आफ्नो चरित्र देखाएको उहाँको भनाइ छ । “के–के भन्थे, के–के गरे, सबैले थाहा पाइसक्नुभयो अब भ्रमको पर्दा उध्रिसकेको छ” भट्टराईले भन्नुभयो ।

मतदाताको चाहाना बमोजिम युवा र परिपक्व उम्मेदवारका रुपमा पार्टीले रामप्रसाद न्यौपानेलाई अघि सारेको उहाँले उल्लेख गर्नुभयो । “रामजी यहाँको विकासमा योगदान गर्न सक्ने र जनताको गुनासो सुन्न सक्ने स्थानीय सक्षम युवा हुनुहुन्छ, अहिलेको पुस्ताको भावना बुझ्न सक्ने पार्टीको जिल्ला अध्यक्ष पनि हो” भट्टराईले भन्नुभयो । समृद्ध नेपाल निर्माण गर्ने ठोस कार्ययोजना सहित एमाले अघि बढेको बताउँदै उहाँले अन्य पार्टीका गतिविधि र कार्यशैलीका कारण जनतामा निराशा छाएको उहाँको दाबी छ ।

 

जनचाहना अनुरुप समृद्धिको अभियान अघि बढाउन मुलुकको नेतृत्व एमाले पार्टीबाट मात्रै सम्भव रहेको उहाँले बताउनुभयो । भरतपुर–१२ एमाले वडा कमिटीका अध्यक्ष तिलप्रसाद न्यौपानेको अगुवाइमा पोखरेली टोल, आनन्द टोल, प्रेरणा टोल क्षेत्रमा चुनावी घरदैलो गरिएको थियो । कमिटीले वडाका विभिन्न टोलमा तालिका बनाएर दिनहुँ घरदैलो गरिरहेको सचिव शोभा पण्डितले जानकारी दिनुभयो ।