२०८० चैत्र १५ , बिहिवार

एमाले उम्मेदवार न्यौपाने मतदाताका गुनासो सुन्न घरघरमा

सुनाखरी न्युज/  चितवन । वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन–२ का एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले मतदाताको गुनासो सुन्दै घरदैलोलाई तीव्र बनाएका छन् । न्यौपानेले चितवनको क्षेत्र नम्बर २ मा पर्ने प्रत्येक गाउँमा पुगेर स्थानीय मतदाताको गुनासो सुन्ने गरेका हुन् ।

 

उनले आज भरतपुर महानगरपालिकाको वडा नम्बर २९ र इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ मा घरदैलो गरेका छन् । उम्मेदवार न्यौपानेले घरदैलोका क्रममा मतदाताहरुले गरेको गुनासो सम्बोधन गर्ने बताएका छन् । अघिल्लो पटक भएको गल्तीलाई सुधार्नका लागि पनि यो उपनिर्वाचन महत्वपूर्ण हुने न्यौपानेले बताए । स्थानीयले न्यौपानेसँग खानेपानी, सडक, स्वास्थ्य र शिक्षाका बारेमा गुनासा गरेका थिए । न्यौपानेले यसअघि एमालेबाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले चितवन २ मा धेरै कामहरु गरेका उल्लेख गरे । यस क्षेत्रमा बाँकी रहेका स्वास्थ्य, शिक्षा, सडक, खानेपानीलगायत जनताको समस्या सम्बोधन गर्न आफू हरदम तयार रहेको न्यौपानेले बताए ।

 

आफू यही चितवनमा पढेको र बढेको उल्लेख गर्दै चितवनका जनताको गुनासाका बारेमा जानकार भएकाले यहाँको समस्या समाधान गर्नका लागि खरोरुपमा उत्रिने न्यौपानेले बताए । निर्वाचित भएर गएपछि आफू आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर आउने र मतदाताको गुनासो र समस्या समाधानमा प्रतिबद्ध रहने न्यौपानेले बताए । यस क्षेत्रका मतदाताहरुले न्यौपानेलाई स्वागत गर्दै अबिर र टीका लगाएर जितका लागि आशिर्वाद एवं शुभकामना दिएका छन् । आज शनिबार भएको घरदैलोका क्रममा न्यौपानेसँगै एमाले नेताहरु कृष्णभक्त पोखरेल, नारायणप्रसाद अधिकारी, श्रीप्रसाद दवाडी, विद्यार्थी नेताहरु तथा स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । भोलि आइतबार न्यौपानेले कालिका नगरपालिकाको विभिन्न वडामा घरदैलो गर्ने कार्यक्रम तयार गरिएको छ ।