२०८१ बैशाख १२ , बुधवार

महासंघको वरिष्ठ उपाध्यक्षका लागि उमेश र अन्जनबीच फेरि प्रतिस्पर्धा, संघई बाहिरिए

सुनाखरी न्युज/ काठमाडौं ।

वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनका लागि पहिलो चरणमा ५० प्रतिशतभन्दा कम्तीमा १ मत बढी ल्याउनुपर्ने भएपनि तीनै जना उम्मेदवारले उक्त मतभार नकटाएपछि दोस्रो चरणमा निर्वाचन हुन लागेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी रामचन्द्र संघई बाहिरिएका छन् । प्रतिस्पर्धी तीन उम्मेदवार कसैले पनि ५० प्रतिशत मत नकटाएपछि धेरै मतभार पाएका दुई उम्मेदवार उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठबीच फेरि प्रतिस्पर्धा हुने भएको छ ।

संघईसँगै वरिष्ठ उपाध्यक्षमा उमेशलाल र अन्जन प्रतिस्पर्धामा थिए । मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार एसोसिएटतर्फबाट अन्जनले ५७३, उमेशलालले ४२६ र संघईले ६१३ मत पाएका थिए भने १८ मत बदर भएको थियो । त्यस्तै जिल्लारनगरतर्फबाट अन्जनले ४७, उमेशलालले २८ र संघईले ३९ मत पाएका थिए भने ३ मत बदर भएको थियो ।

त्यस्तै वस्तुगततर्फबाट अन्जनले ४१, उमेशलालले ६९ र संघईले १२ मत प्राप्त गरे भने १ मत बदर भएको थियो । कुल प्राप्त मतलाई प्रतिशतमा हेर्दा अन्जनले ३९।९९ प्रतिशत, उमेशलालले ३१।५१ र संघईले ३०।४६ प्रतिशत मत प्राप्त गरे । वस्तुगत, जिल्लारनगर र एसोसिएटतर्फको उपाध्यक्ष र सदस्यहरुको मतगणना सकिएको छ । प्रदेशतर्फको सदस्यहरुको पनि गणना सकिसकेको छ । मुख्य निर्वाचन अधिकृत पौडेलका अनुसार दोस्रो चरणको निर्वाचन बिहीबार दिउँसो २ बजेबाट सुरु हुने छ ।