२०८१ बैशाख १४ , शुक्रवार

सगरमाथा जलविद्युत र मोलुङ्ग हाइड्रोपावरको आईपीओ सूचीकृत

सुनाखरी न्युज/ काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको ८० लाख २५ हजार कित्ता र सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको १ करोड १२ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो ।

 

अव यी दुबै कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा भोलि अर्थात बिहीवार देखि कारोबारमा आउनेछ् । नेप्सेले सगरमाथा जलविद्युत कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू. १११ दशमलव ४१ देखि अधिकतम रु. ३३४ दशमलव २३ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ ।यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर बिहिवार देखि कारोबारमा आउनेछ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि वितरण गरिएको ११ लाख २० हजार कित्ता, सर्वसाधारणको लागि निष्कासन गरेको ४३ लाख ६८ हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ५७ लाख १२ हजार कित्ता गरी कुल १ करोड १२ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । कम्पनीको स्टक सिम्बोल एसएमजेसी रहेको छ । साथै कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा प्रभु क्यापिटल काठमाडौंबाट हुने जानकारी दिएको छ ।

 

त्यस्तै नेप्सेले मोलुङ्ग हाइड्रोपावरको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू. ६० दशमलव ६२ देखि अधिकतम रु. १८१ दशमलव ८६ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर बिहिवार देखि कारोबारमा आउनेछ । कम्पनीले स्थानिय बासिन्दाका लागि वितरण गरेको ८ लाख २ हजार ५ सय कित्ता,सर्वसाधारणको लागि निष्कासन गरेको २७ लाख २८ हजार ५ सय कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ४४ लाख ९४ हजार कित्ता गरी कुल ८० लाख २५ हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

कम्पनीको स्टक सिम्बोल एमएचसिएल रहेको छ । साथै कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौंमाबाट हुने जानकारी गराएको छ ।