शिशिर उजाड/ पोखरा। पोखरामा रहेको गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थाले सम्पदा संरक्षण अभियान सुरु गरेको छ। पछिल्लो समय प्राकृतिक एवं सांस्कृतिक सम्पदा दोहन गर्ने प्रवृत्ति बढेको र राज्य उदासीन देखिएको भन्दै संस्थाले अभियान सुरु गरेको जनाएको छ। संस्थाले बुधवार महेन्द्र गुफामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमका विच अभियानको घोषणा गरेको अध्यक्ष अनिल बस्नेतले जानकारी दिनुभयो।
अभियानको शुरुवात गर्नुहुदै पोखरा महानगरपालिका वडा नं १६ का अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले प्राकृतिक सम्पदा तथा एेतिहासिक सस्कृति यस क्षेत्रकै गहना भएकाले यसको उचित संरक्षण र संवद्र्धन गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले पोखरा १६ भित्रका एेतिहासिक, पुरातात्विक र प्राकृतिक सम्पदाको संरक्षण गर्न वडा सरकारले योजना निर्माणको तयारी गरेको जानकारी दिनुभयो। संस्थाका पुर्व अध्यक्ष गोविन्द वहादुर वस्नेतले प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई जोखिममा पार्न स्वयं राज्य नै उद्दत रहेको बताउँदै, यसको उचित संरक्षणमा स्थानीय जागरुक हुनुपर्नेमा जोड दिनुभयो। अभियानका बारेमा जानकारी दिदैं उहाँले विकास निर्माणका नाममा प्राकृतिक रूपमा ख्याति कमाएका धरोहरलाई असर पार्न नहुने बताउनुभयो।
संस्थाका अध्यक्ष अनिल बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य मन्जु वस्याल, कृषिविज्ञ वेनी वहादुर वस्नेत, बिन्ध्यबासिनी मा विका सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ, महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक गुरूदत्त भट्टराई, हिमालय क्लवका अध्यक्ष सुशील बस्नेत, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि युवा नेता मदन वस्नेत, एकल महिला समुहका अध्यक्ष दुर्गा केसी थापा, चमेरे गुफा टोल विकास संस्थाका अध्यक्ष पुष्प अधिकारी लगायतले विकासको नाममा बढ्दै गएको विनासलाई अन्त्य गरिनुपर्ने बताए।
कार्यक्रममा सहभागीले निर्माणाधीन मध्यपहाडी लोकमार्गले पोखरा १६ का ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक सम्पदालाई जोखिममा पार्ने बताउँदै, लोक मार्गको विकल्प खोज्न सुझाव दिएका छन्।
संस्थाका उपाध्यक्ष एकराज नेपालीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव प्रेम तिमिल्सिनाले गर्नुभएको थियो। कार्यक्रममा सहभागीले एक आपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका थिए।