२०८१ बैशाख १९ , बुधवार

जेष्ठ नागरिकको आशिर्वाद लिँदै, गुनासो सुन्दै उम्मेदवार न्यौपाने

सुनाखरी न्युज / चितवन। आगामी वैशाख १० मा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन २ का नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने ज्येष्ठ नागरिकको आशिर्वाद दिँदै मतदाताका गुनासो सुन्दै घरदैलो गरेका छन् । न्यौपानेले निर्वाचनको प्रसारप्रसारका क्रममा मतदाताको टोल तथा विभिन्न स्थानमा कोणसभा गर्दै वरिपरीका नागरिकका गुनासो समेत सुनेका छन् ।

 

घरदैलोका क्रममा उम्मेदवार न्यौपानेलाई अधिकांश ज्येष्ठ नागरिकले स्वास्थ्य सम्बन्धी गुनासा तथा जिज्ञासाहरु राखेका थिए । भरतपुर–५ र ७ मा भएको घरदैलोका क्रममा स्थानीय ज्येष्ठ नागरिकहरुले उम्मेदवार न्यौपानेलाई भरतपुर अस्पतालको सेवालाई गुणस्तरीय बनाउँदै सहजरुपमा उपचार गर्न पाउने व्यवस्था गराउन अनुरोध गरे । त्यसैगरी सरकारी अस्पतालमा पहिला उपचार र पछि पैसा लिने व्यवस्था गर्नुपर्नेमा उनीहरुले सुझाव दिएका छन् ।त्यहाँका ज्येष्ठ नागरिक तथा महिला मतदाताहरुले पहिले बाहिरका मान्छेलाई भोट दिएकोमा दुःख पाएको भन्दै अब भने युवा र असल उम्मेदवार न्यौपानेलाई मतदान गरेर जिताउने बताए । ज्येष्ठ नागरिक, एकल महिला, विद्यार्थीहरुको हकहितमा एमालेले विगतमा राम्रो काम गरेकाले पनि चितवन २ मा एमालेका उम्मेदवारले जित्नुपर्ने स्थानीयको भनाइ छ । जितेर गएपछि ज्येष्ठ नागरिकको जिम्मेवारी सरकारले लिनेगरी काम गर्नसमेत न्यौपानेलाई स्थानीयले आग्रह गरेका छन् ।

 

मंगलबार भरतपुरको विभिन्न स्थानमा भएको कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार न्यौपानेले सरकारी अस्पताललाई सुविधा सम्पन्न बनाउन आफू प्रतिबद्ध भएर लागिपर्ने बताए । उनले आफू कुनै पनि आरोप र भ्रष्टाचारमा नमुछिने भन्दै अरुले भ्रष्टाचार गरेमा पनि भण्डाफोर गर्ने बताए । आफ्नो निर्वाचन क्षेत्रमा रहेका हरेक टोल सुधार समितिमार्फत विकासका योजनाहरु माग गरेर सोहीअनुसार व्यवस्थापन गर्न सहजीकरण गर्ने न्यौपानेको भनाइ छ । अहिले उपनिर्वाचन गर्नुपर्ने रहर नभएर बाध्यता भएको भन्दै उम्मेदवार न्यौपानेले राम्रो समाज निर्माणका लागि जनप्रतिनिधि पनि राम्रो हुनुपर्ने बताए । जनताका समस्याहरु बुझ्ने र सुन्ने खालका उम्मेदवार हुनुपर्ने उल्लेख गर्दै न्यौपानेले आफू जितेर गएपछि हरेक ठाउँमा जनताको गुनासो सुन्न पुग्ने बताए ।

 

स्वदेशमै स्वरोजगार बन्ने, यहीँ पढ्नेलेख्ने तथा व्यवसाय गर्ने वातावरण सिर्जना गर्ने आफ्नो प्राथमिकता रहेको न्यौपानेको भनाइ छ । मंगलबार भएको घरदैलो एवं कोणसभामा उम्मेदवार न्यौपानेसहित एमालेका नेताहरु देवी ज्ञवाली, विजय सुवेदी, कृष्णभक्त पोखरेल, यमबहादुर परियार, पुरुषोत्तम न्यौपानेलगायतका नेताहरु सहभागी थिए ।