२०८१ बैशाख १४ , शुक्रवार

आगामी आर्थिक वर्षमा युवा वैज्ञानिकलाई प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याउने सरकारको दाबी

सुनाखरी न्युज/ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसन्धान केन्द्रहरूलाई सातै प्रदेशमा स्थापना गरी अनुसन्धानको दायरा विस्तार गर्न जरूरी रहेको बताएको छ ।

 

स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले अनुसन्धान केन्द्रहरूलाई सातै प्रदेशमा विस्तार गरी अनुसन्धानको दायरा फराकिलो बनाउन जरूरी रहेको बताउनुभएको हो । उहाँले शाखा विस्तारका लागि मन्त्रालयले आवश्यक काम अघि बढाइसकेको पनि बताउनुभयो । सचिव पोखरेलले अनुसन्धानका शाखाहरू प्रादेशिक रुपमा अघि बढाउने विषयमा मन्त्रालयमा गहन छलफल भइरहेको बताउनुभयो । उहाँले देशमा नसर्ने रोगहरूको पनि अनुसन्धान हुन जरुरी रहेको बताउनुभयो ।

 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले संवैधानिक व्यवस्थालाई दृष्टिगत गरी खोज र अनुसन्धानबाट प्राप्त तथ्य, तथ्यांकका आधारमा स्वास्थ्य नीति, रणनीति, योजना तर्जुमा गर्नेगरी सरकारले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षणका लागि विशेष कार्यक्रम लागू गरिने बताउनुभयो । उहाँले युवाहरूको नविन विचार र अनुसन्धानले स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 

उपाध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा युवा वैज्ञानिकलाई विशेष प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याइने पनि बताउनुभयो ।