२०८१ बैशाख ११ , मंगलबार

अमेरिकामा बैंककै कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु, नौ घाइते

सुनाखरी न्युज/ काठमाडौं । अमेरिकाको केन्टुकी राज्यको लुइसभिलस्थित एक बैंकमा कार्यरत एक जना कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ ।

 

आक्रमणकारीले आफ्नो इन्स्टाग्राममा गोली चलाउदै गरेको लाइभ स्ट्रिम गरेको त्यहाँका प्रहरीले जनाएको छ । मृत्यु हुनेहरु ४० बर्षदेखि ६४ बर्षसम्मका छन् । आक्रमणमा अन्य नौ जना घाइते भएका छन् । घाईतेमध्ये एकजना दुई साताअघि मात्रै भर्ना भएका एकजना प्रहरी अधिकारी पनि छन् । उनको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको समाचारमा उल्लेख गरिएको छ ।

 

शहरको केन्द्रमा रहेको पुरानो नेसनल बैंकमा गोली चलेको बीबीसीले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति जो बाईडेनले ट्वीटरमार्फत धेरै अमेरिकीहरुले निहत्थामा ज्यान गुमाईरहेको बताउँदै कङ्ग्रेसमा रिपब्लिकनहरूले अमेरिकी जनताको जीवन रक्षाका लागि कहिले काम गर्नेछन् भनी प्रश्न गर्नुभएको छ ।

 

अमेरिकी डेमोक्रेटिक पार्टीले कडा बन्दुक सुरक्षा कानून बनाउन लामो समयदेखि कंग्रेसलाई जोड दिदै आएको छ । तर रिपब्लिकन सांसदहरूले भने त्यस्को कडा विरोध गरिरहेको छ । केन्टकीमा २१ वर्ष भन्दा माथिका अधिकांश वयस्कहरूलाई इजाजतपत्र बिना बन्दुक किन्न र बोक्न अनुमति दिने गर्दछ ।