२०८१ बैशाख ७ , शुक्रवार

कर्तव्यनिष्ठ भएर जिम्मेवारी पूरा गर्न राजस्व कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

सुनाखरी न्युज/ काठमाडौं । इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ भएर जिम्मेवारी पूरा गर्न भन्सार विभागका कर्मचारीहरुलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्देशन दिएका छन् । सोमबार भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो निर्देशन दिएका हुन् । उनले भने, ‘म अर्थमन्त्रालयमा शोभा बढाउन आएको होइन, राजनीतिक नेतृत्व, कर्मचारी र उद्योग व्यवसायी सबै मिलेर अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान गरौं ।’

 

मन्त्री डा. महतले भने, ‘अहिले राजस्व घटेको छ । राजस्व घट्दा कर्मचारी दोषी छन भनेर कठघरामा उभिनुभएको छ भन्ने मेरो भनाइ होइन । राजस्व घटनुमा विभिन्न कारण छन् । हामी आफै कति कारक छौं, त्यसको आत्ममूल्यांकन हामी सबैले गर्नुपर्छ । पछिल्लो समयमा चोरी पैठारी बढ्यो, यो चोरी पैठारी भन्सारभन्दा टाढाको बाटोबाट भएको छैन । भन्सार नाकाकै छेउछाउबाटै चुवाहट आएको छ, यो गम्भीर कुरा हो ।’

भन्सार विभागले मन्त्रालयलाई उपलब्ध गराएको रिर्पोटअनुसार २८ प्रतिशत भन्सार घटेको छ । विभिन्न भन्सार नाकाको भोलुमको कम्पोजिसन र भन्सार घट्नुमा कस्को कति योगदान छ भन्ने कुरा रिर्पोटले देखाउँछ । भैरहवा भन्सारको सबैभन्दा धेरै घटेको छ । भैरहवा भन्सारबाट ४४ प्रतिशत घटेको छ । त्यहाँको प्रमुखलाई भनिसकेको छु, उहाँ आउनु हुन्छ र गम्भीर छलफल गर्नुपर्ने आवश्यकता मैले देखेको छु ।

‘महानिर्देशकलाई आग्रह गर्छु, विभिन्न भन्सार नाकाको आयातको प्रकृति के छ त्यसको रिर्पोट मलाई चाहियो । वस्तु आयातबाट भन्सार घटेको हो कि अर्को बाटोबाट भन्सार छलेर भित्रियो ? त्यसको ब्रेकडाउन मलाई चाहियो’, मन्त्री डा. महतले भने, त्रिभुवन विमानस्थल नाकाबाट पनि भन्सार राजस्व धेरै घटेको छ । त्यहाँ पनि चुहावट भएको खबर प्राप्त भएको छ । वीरगन्ज, रसुवा नाकाबाट पनि धेरै भन्सार राजस्व घटेको छ । यसलाई तपाईंहरुले गम्भीर रुपमा लिनु होला । मेरो लागि अरु कुनै मूल्यांकनको आधार छैन । कर्तव्यनिष्ठ भएर काम गर्ने, नतिजा देखाउनु होला ।’

‘आयात निर्यातमा संलग्न व्यवसायीहरुलाई अनावश्यक शुल्क लिने भनेको होइन । जहाज कुरा तपाईंहरुलाई थाहा, बुझ्नु भएको छ, तर कार्यान्वयन भइरहेको छैन, त्यतातिर म तपाईंहरुको ध्यानाकार्षित गराउन चाहान्छु, मन्त्री डा. महतले भने, ‘तपाईंहरुमध्ये धेरैजसो मेहनत र इमान्दारसाथ काम गरिराख्नु भएको छ । यो कठघरामा उभ्याउन खोजेको होइन, राजनीतिक, प्रशासनिक अथवा जो जहाँ जसले जिम्मेवारी लिइराख्नु भएको छ, संस्थाप्रति हाम्रो इमान्दारिता, क्रियाशीलता र कामप्रतिको समर्पण मेरो नेतृत्वमा अर्थमन्त्रालय सम्पूर्ण रुपमा पारदर्शी ढंगबाट हामी काम गर्न चाहन्छौं । नतिजा देखाउन चाहन्छौं । त्यसमा भन्सार विभाग प्रमुख हो । बलियो नेतृत्वको आवश्यकता छ । तल्लो तहलाई सजाय गरिन्छ, नेतृत्ववर्गलाई केही गरिदैन भन्ने कुरा आएको छ । जसले नेतृत्व गरिराखेको छ, उसले त्यो जिम्मेवारी लिनुपर्छ भन्ने मलाई लागेको छ । जवाफदेही पनि बनाउने र जिम्मेवारी पनि दिने हो । जिम्मेवारी दिने र जिम्मेवारी लिने परम्पराको हामी सुरुवात गरौं ।’

डा. महतले भने, ‘अरु धेरै कारणले राजस्व घटेको छ । राजस्व घट्नुमा सम्पूर्ण कर्मचारीको मात्र होइन । तर तपाईंहरुको हिस्सा कति छ त्यसको जिम्मेवारी कर्मचारीले लिनुपर्छ । प्रधानमन्त्री कार्यालयमै हामीले सुरक्षा निकायसँग बसेर बलियो निर्देशन त्यहाँ पनि दिइएको छ । सुरक्षा निकाय र भन्सार कर्मचारीको समन्वयमा भन्सार चुहावट रोक्नुपर्छ । अरु कारणबाट भन्सार चुहावट भएको छ भने त्यसको जानकारी हामीले पाउनुपर्छ ।’

‘मोबाइल फोनमा सिस्टम लागू नगर्दा चोरी पैठारी बढेको, राजस्व घटेको छ । कर्मचारीले आफ्नो जिम्मेवारी उच्च कर्तव्यनिष्ठका साथ पूरा गर्नुहुनेछ भन्ने विश्वास लिएको छ । राज्यको आयले साधारण खर्च धन्न नसक्नु दुर्भाग्य हो, यसबारे राजनीतिक नेतृत्व गम्भीर छ । यो समस्या समाधानका लागि हाम्रोतर्फ कुनै कसर बाँकी राखिँदैन । उद्योग व्यवसायीलाई दिइने झन्झटप्रति पनि हामी त्यत्तिकै संवेदनशील छौं’- डा. महतले भने ।