२०८१ बैशाख ६ , बिहिवार

बच्चाको जन्मदर्ता गर्दा मावली थर लेख्ने परिपत्र सच्यायो पञ्जीकरण विभागले

सुनाखरी न्युज/ काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मावली थर प्रयोग गरी बच्चाको जन्मदर्ता गरिदिने भन्दै जारी गरेको परिपत्र सच्याएको छ। विभागले ‘मावली थर’ राख्ने भनी व्यवस्था भएको ठाउँमा ‘बच्चा जन्मिँदा कायम आमाको थर र ठेगाना’ भनी उल्लेख गरेको छ।

 

आइतबार परिपत्र सच्याएर सार्वजनिक गरिएको विभागका निर्देशक नवराज जैसीले जानकारी दिए। विवाहअघि नै बच्चा जन्माएका एकल महिलाले विवाह गरी पतिको थर र ठेगाना लिएपछि नयाँ थरअनुसार बच्चाको जन्मदर्ता गर्दा हुने समस्या समाधानका लागि यस्तो व्यवस्था ल्याइएको हो। यसअघिको परिपत्रमा मावली थर प्रयोग गर्न भनिएको थियो। आइतबार भने बच्चा जन्मिँदा कायम आमाको थर प्रयोग गर्ने भनिएको छ। विभागले बच्चालाई जन्म दिने आमाको लैंगिक भूमिकाको उच्च सम्मान गर्दै परिपत्र सच्याएको जनाएको छ। आमाको थरको सट्टा मावली थर राखेर बच्चाको जन्मदर्ता गरिदिने भन्ने अघिल्लो परिपत्र आलोचित भएपछि विभागले सच्याएको हो।

 

यसअघिको परिपत्रमा दुईवटा व्यवस्था यस्ता थिए जसले आमाको पहिचान र अस्तित्व इन्कार गर्थ्यो। पहिलो, विवाहअघि जन्म भएको तर ‘पितृत्वको ठेगान नभएको’ बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानामा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको ठेगानामा जन्मदर्ता गरिदिने। दोस्रो, विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा’ भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्मदर्ता गरिदिने।

 

यी व्यवस्थाको सट्टा बच्चा जन्मिँदा कायम रहेको आमाको थर राखेर जन्म दर्ता गरिदिने व्यवस्था गर्दै आइतबार विभागले फेरि परिपत्र जारी गरेको छ। बावुको ठेगाना थाहा नभएका एकल महिलाका बच्चाको जन्मदर्ता आमाकै नामथर र ठेगानाबाट गर्न परिपत्रमा भनिएको छ। यो परिपत्रले आमाबुवाको सम्बन्ध विच्छेद भएर आमासँगै रहने बच्चाको जन्मदर्ता बाबुको ठेगानामा भएको रहेनछ भने आमाकै हालको ठेगानामा गरिदिन पनि भनेको छ। आमा कारागारमा रहँदा जन्मिएका वा बालविवाह/ बहुविवाह जस्ता बदरयोग्य विहेसम्बन्धबाट जन्मिएका बच्चाको जन्मदर्ता कानुन बमोजिम प्रक्रिया पुर्याइ गरिदिन परिपत्रमा उल्लेख छ। उक्त परिपत्र ६ हजार ७ सय ४३ वटै वडामा पठाइएको छ।

उक्त परिपत्र जस्ताको तस्तै :