२०८० चैत्र १६ , शुक्रवार

सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदै

सुनाखरी न्युज/ काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो ।

 

मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ । अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन । गोला प्रक्रियाबाट इजलास चयन गरेपछि मात्रै इजलास निर्धारण हुनेछ । यसअघि किशोरीले अन्तरिम राहत माग गर्दै दायर गरेको निवेदनमा जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले अन्तरिम राहत दिन नपर्ने आदेश सुनाएको थियो । अन्तिम फैसलाबाटै मुद्दा किनार लगाउनुपर्ने भन्दै तत्काल अन्तरिम राहत दिननपर्ने आदेश जिल्ला अदालतले दिएको थियो ।

 

यसअघि सबै प्रक्रिया पूरा भइसकेको र सर्वोच्च अदालतले पनि फास्ट ट्रयाकमा सुनुवाइ गर्न भनेकाले अन्तिम सुनुवाइ तत्काल टुंग्याउने सम्भावना छ । लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गर्दै सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो। उच्चले काठमाडौं छाड्न अनुमति लिनुपर्ने र विदेश जान प्रतिबन्ध लगाएकोमा सर्वोच्चले प्रतिबन्ध फुकुवा गरेको थियो ।