२०८० चैत्र १५ , बिहिवार

कृतिम फोक्सो राखेर काठमाडौँको वायु प्रदुषण मापन सुरु

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौँको वायु प्रदुषणको अनुभूत योग्य मापनका लागि आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवेश द्वारमा एक जोडी कृतिम फोक्सो जडान गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयले युयसएआईडी, स्वच्छ हावा परियोजनासँगको सहकार्यमा कृतिम फोक्सो राखेको हो ।

 

यो कृत्रिम फोक्सोमा एक आन्तरिक संयन्त्र छ । यो संयन्त्रले फोक्सोलाई मानिसले सास फेरे जस्तै सञ्चालन गर्छ । ३० दिनको अवधिमा वायु प्रदुषणले फोक्सोको रङ्गमा कस्तो प्रभाव पार्छ, यसलाई हेरिनेछ । वायु प्रदूषणले मानिसको फोक्सोलाई कसरी हानी गरिरहेको छ भनेर देखाउन र बुझाउन यसबाट मद्दत पुग्नेछ । यसलाई बुझाउन कृतिम फोक्सोसँगै काठमाडौँको वायु प्रदुषणको मात्रा देखाइनेछ । वातावरण र जनस्वास्थ्यको सुधारका लागि निर्णयकर्तालाई यसले वास्तविक अवस्था देखाउनेछ । वायु प्रदुषणलाई सम्बोधन गर्न प्रमाणमा आधारित नीति तर्जुमा र कार्यान्वयन प्रक्रियाका लागि यसबाट तथ्य प्राप्त हुनेछ ।

 

विश्वका १३१ भन्दा धेरै देश वायु प्रदुषणसँग सम्बन्धित समस्यासँग जुधिरहेका छन् । सन् २०२२ मार्च ४ तारिखमा सार्वजनिक भएको स्वीस प्रविधिमा आधारित आइक्यु एअरको अध्ययनले धेरै वायु प्रदुषण हुने देशहरुमा नेपाललाई १६ औँ स्थानमा देखाएको छ । नेपालमा सन् २०१९ मा वायु प्रदूषणका कारण ४२ हजार १ सयको मृत्यु भएको थियो । त्यसमध्ये ५ हजार ८० जनाको मृत्यु काठमाडौंमा मात्र भएको थियो । नेपालमा हुने मृत्युको ठूलो कारणमध्ये दीर्घकालीन फोक्सोको रोग (सीओपिडी) एक हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६ प्रतिशत मृत्यु वायु प्रदूषणका कारणले हुन्छ ।

 

वायु प्रदुषणका लागि व्यक्तिका हरेक क्रियाकलाप जिम्मेवार हुन सक्छन् । उनीहरुका आचरणगत क्रियाकलापका कारण प्रदुषण बढाउन योगदान नगर्नेलाई पनि असर गरिरहेको हुन्छ । विश्व अहिले गैर संक्रामण रोगबाट हुने मृत्युको जोखिममा धकेलिँदै गएको छ । यसबेला सहरलाई मानव बसोबास अनुकुल बनाउन वायु प्रदुषण नियन्त्रण साझा मत निर्माण हुनुपर्ने आवश्यकता देखिएको छ ।